पोखरा, १९ कार्तिक २०८२ ।
जेनजी आन्दोलनको क्रममा नेपाल प्रहरीको लुटिएको हतियारसहित काठमाण्डौबाट एक जना पठाओ चालक पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको विशेष टोलीले कैलाली टिकापुरका शिवराज धमलालाई प्रहरीबाट लुटिएको तीन थान हतियारसहित काठमाण्डौको तारकेश्वरबाट बुधबार पक्राउ गरेको हो। धमला पठाओ चालक हुन्।
प्रहरीका अनुसार , हतियार किन्ने बहानामा धमलासम्म पुगेको प्रहरीले उनलाई प्रहरीबाट लुटिएको पेस्तोलसहित समातेको थियो। त्यसपछि उनको कोठामा खानतलाशी गर्ने क्रममा थप दुई वटा हतियार पनि बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।
उनीसँग थप सोधपुछ र अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीप्रसाद आचार्यले बताए।