‘प्रचण्डपथ’ छाडेको तात्कालिन माओवादीले ‘माओवाद’ पनि छाड्यो : अब मार्ग निर्देशक सिद्धान्त ‘मार्क्सवाद लेनिनवाद’

‘प्रचण्डपथ’ छाडेको तात्कालिन माओवादीले ‘माओवाद’ पनि छाड्यो : अब मार्ग निर्देशक सिद्धान्त ‘मार्क्सवाद लेनिनवाद’


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १७ कार्तिक २०८२
  • 7.2K
    Shares

पोखरा, १७ कार्तिक २०८२ ।

अन्तत: प्रचण्डको नेतृत्वमा १० वर्षीय जनयुद्ध लडेको नेकपा माओवादी केन्द्रले पार्टीको मार्गदर्शक सिद्धान्त माओवाद पनि परित्याग गरेको छ। आफ्नो मार्गदर्शक सिद्धान्त प्रचण्डपथ बनाएर १० वर्षीय जनयुद्ध लडेको तात्कालिन नेकपा (माओवादी)ले दुई सय ४० वर्ष लामो निरङ्कुश राजतन्त्र फाल्यो।

निरङ्कुश राजतन्त्र फालेसंगे तात्कालिन माओवादीले प्रचण्डपथ पनि छाड्यो र पार्टीको आधारभू सिद्धान्त माओवाद बनायो त्यस लगत्तै भएको पहिलो संबिधानसभा चुनाबमा संसद्को सबैभन्दा ठुलो दल बन्यो।

पहिलो संबिधानसभा विफल भएसंगै भएको दोश्रो संविधानसभा चुनाबमा माओवादी केन्द्र संसद्को तेश्रो ठुलो दलमा सिमित भयो। माओवादी कमजोर भएको अवस्थामा २०७२ सालमा नेपालको संबिधान जारी भयो।

निरङ्कुश राजतन्त्र फालेको माओवादी टुक्रा – टुक्रा मात्र भएन, छिन्नभिन्न भयो। त्यही छिन्नभिन्न र टुक्रा – टुक्रा भएर बनेका माओवादी धारका पार्टी र अन्य मार्क्सवादी-लेनिनवादी धारका समेत आठ वटा राजनीतिक दलहरुलाई समेटेर छुट्टै एकीकृत पार्टी बनाउने सहमति सोमबार भएको छ।

ती आठ वटा राजनीतिक पार्टीहरु बिचको पार्टी एकता घोषणा भने आउने कार्तिक १९ गते हुने भएको छ। एकीकृत हुने पार्टीहरुको संख्या धेरै र ठुलो भए पनि अधिकाँशको सांगठानिक र जनआधार अति कमजोर छ। यी आठ वटा राजनीतिक दलहरु मिलेर बनेको एकीकृत पार्टीले आउने फागुन २१ गते हुने भनिएको चुनाबमा परिणाममा तात्विक असर गर्न सक्ने अवस्था छैन।

गरीब, किसान , मजदुर लगायत सर्वहारा वर्गको राज्यसत्ता प्राप्तिका लागि दलाल संसदीय ब्यबस्थाबिरुद्ध भन्दै २०५२ साल फागुन १ गतेदेखि शुरु गरिएको दिर्घकालिन जनयुद्धका कमान्डर प्रचण्डले ३० वर्षपछी आएर त्यही दलाल संसदीय ब्यबस्थामा चुनाब लड्नका लागि सांगठानिक र जनआधार कम रहेका राजनीतिक दलहरुलाई समेटेर छुट्टै पार्टी बनाउन लागि रहेका छन्। उनको नेतृत्वमा बन्ने अबको पार्टीको नाम सम्भवत : नेकपा समाजवादी वा त्यस्तै केहि बन्नेछ। पार्टीको नाम राख्न बाँकी रहेको छ।

पार्टीको नाम राख्न बाँकी रहे पनि पार्टीको आधारभूत सिद्धान्त मार्क्सवाद लेनिनवाद र चुनाब चिन्ह पाँच वटा कुना भएको तारा राख्ने बारे ती राजनीतिक दलहरुबीच सोमबार लिखित सहमति भएको छ। ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने सहमति पत्रमा उल्लेख गरिएको छ। एकताको महाधिवेशन नहुन्जेलसम्मलाई संयोजक र सहसंयोजक रहने छन्।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका विभिन्न ८ कम्युनिस्ट घटकबीच पार्टी एकताको सहमति भएको छ।

सहमति पत्रमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनसमाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी)ले हस्तारक्षर गरेका छन्।

१८ बुँदामा गरिएको सहमति

-पार्टीको मार्ग निर्देशक सिद्धान्त : मार्क्सवाद–लेनिनवाद हुनेछ ।
-नेपाली कान्तिको कार्यक्रम : नेपाली विशेषताको वैज्ञानिक समाजवाद हुनेछ।
-पार्टीको तात्कालिक कार्यनीति : पुँजीवादी जनवादी कान्तिका उपलब्धिको रक्षा राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय, सामाजिक आर्थिक समृद्धि र रूपान्तरण गर्दै समाजवादको आधार तयार गरिने छ ।
-आन्दोलनको स्वरूप आन्दोलन मूलतः शान्तिपूर्ण हुनेछ। परिस्थिति अनुसार सडक, सदन र सरकार लगायत आवश्यकता अनुसारका सबै मोचाहरु आन्दोलनको मोर्चा हुनेछन् ।
-पार्टीको एकता राष्ट्रिय सम्मेलन : एकता प्रक्रियामा सहभागी सबै घटकहरूका केन्द्रीय समितिहरूको संयुक्त भेलाको रूपमा एकता राष्ट्रिय सम्मेलनको आयोजना २०८२ कात्तिक १९ गते गरिने छ । एकता राष्ट्रिय सम्मेलनबाट पार्टी एकताको घोषणा, घोषणा पत्र र अन्तरिम विधान पारित र केन्द्रीय समितिको गठन लगायतका कार्यहरू गरिनेछ ।
-एकता राष्ट्रिय महाधिवेशन :आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशनको आयोजना गरिनेछ ।
केन्द्रीय समितिको गठन : एकता प्रक्रियामा सहभागी भएका पार्टीहरूका साविकका केन्द्रीय समितिहरूलाई समायोजन गर्दै आपसी सहमतिको आधारमा केन्द्रीय समिति गठन गरिने छ ।
केन्द्रीय समिति भित्रको संरचना : केन्द्रीय समिति, राजनीतिक समिति सचिवालय, कार्य संयोजन समिति हुनेछ ।
संयोजक र सहसंयोजक : केन्द्रीय समितिमा संयोजक र सहसंयोजक पद हुनेछ । प्रदेश, जिल्ला, पालिका र वडा तहका सबै समितिहरूमा पनि संयोजक र सहसंयोजक व्यवस्था हुनेछ ।
सहमति र समन्वय एकता : राष्ट्रिय सम्मेलन र एकता महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरू, आयोजना, सङ्गठनात्मक संरचनाको गठन सबै आपसी सहमति र समझदारीमा गरिनेछ ।
-सबै तहको पार्टी पङ्क्तिमा एकता समायोजन : सबै तहका पार्टी समितिहरू र जनसङ्गठनहरूमा इन्चार्ज तथा सहइन्चार्ज र संयोजक तथा सहसंयोजकहरु सम्भव भएसम्म एकतामा सहभागी घटकहरूबाट रहने व्यवस्था गरिने छ ।
-दुई तहमा रहनसक्ने : कुनै पनि सदस्यहरू दुई तहको समितिमा रहन सक्ने छन् ।
-पार्टी समितिहरूको सञ्चालन : पार्टी समितिहरूको सञ्चालन सामूहिक नेतृत्व प्रणालीमा आधारित जनवादी केन्द्रियताको सिद्धान्त अनुरूप हुने छ ।
-राजनीतिक प्रतिवेदन र कार्यक्रम : पार्टी एकता घोषणापश्चात् राजनीतिक प्रतिवेदन कार्यक्रम लगायतका दस्ताबेजहरू निर्माण गर्न कार्यदल गठन गरिने छ ।
-सङ्गठनात्मक समायोजन : पार्टी समितिहरू र जनसङ्गठनहरूमा सङ्गठनात्मक एकता र समायोजनका लागि विभिन्न तहमा कार्यदल गठन गरिनेछ ।
-पार्टीको तहगत कार्यकारी समितिहरु: केन्द्र, भौगोलिक र गैरभौगोलिक दुवै तर्फका प्रदेश, जिल्ला, पालिका र वडा तह कार्यकारी हुनेछन्। सङ्घ र प्रदेश निर्वाचन क्षेत्रमा समन्वय समिति हुने र टोल तथा प्रारम्भिक स्तरका समितिहरू सङ्गठन समितिको रूपमा रहने छन् ।
-पार्टीको नाम र चुनाव चिन्ह : पार्टीको नाम………………….. रहने र चुनाव चिन्ह पाँचकुने तारा हुने छ ।
-मतभेद समाधान : वैचारिक राजनीतिक विषयमा एकआपसमा रहन सक्ने मतहरूबारे निरन्तर छलफल गर्दै जाने र एकता राष्ट्रिय महाधिवेशनबाट निष्कर्षमा पुर्‍याइने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार