पोखरा, १४ कार्तिक २०८२ ।
चितवनका युवा व्यवसायी रामप्रसाद सिग्देल (सुलभ) माथि फेरि आक्रमण भएको छ । भरतपुरस्थित सिजी ल्याण्डमार्कमा रहेको पपुलर शैलुनका संचालक सिग्देललाई अपरिचित समूहले बिहिबार अपरान्ह फेरि आक्रमण गरेको हो ।
आक्रमणबाट सिग्देलको हात र टाउकोमा चोट लागेको छ । उनको भरतपुर अस्पतालमा आकस्मिक कक्षमा उपचार भइरहेको छ ।
काम सकेर घर फर्कने क्रममा उनलाई सिजी ल्याण्डमार्कको पार्किङमा तीन जनाको समुहमा आएका अज्ञात युवाहरुले आक्रमण गरेको सिसिटिभी फुटेजमा देखिएको छ।
उक्त सिसी टिभी फुटेजमा उनिहरु सिजी ल्याण्डमार्कको प्रवेशद्धारमा कुरेर बसेको र देख्नासाथ मोटरसाइकलको हेलमेटले हानेर लडाएको र मलका सुरक्षा गार्ड त्यहाँ पुगेपछि आक्रमणकारीहरु भागेको देखिएको छ।
केही साताअघि पनि उनीमाथि सिजी मलमा नै आक्रमण भएको थियो । आक्रमणमा संलग्नको खोजी गरेपनि पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।
यसपटक आक्रमणमा संलग्नको पहिचान नजिक पुगेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिए। एसपी पुरीका अनुसार आक्रमणमा संलग्नको खोजीका लागि सबै क्षेत्रमा प्रहरीको संयन्त्र खटिएको छ । प्रहरीले सिसी टिभी फुटेजका आधारमा अनुसन्धान गरिरहेको पुरीले बताए ।