पोखरा,१२ कात्तिक २०८२।
नेकपा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ परेका छन् ।
प्रभु ग्रुपका अध्यक्ष समेत रहेका भट्टचन भट्टचनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार ललितपुरबाट पक्राउ गरेको हो ।
सहकारी र रेमिट कारोबारसँग सम्बन्धित ठुलो आर्थिक हिनामिनाको आरोपमा उनलाई पक्राउ गरिएको सीआईबीले जानकारी दिएको छ ।
भट्टचनमाथि ९८ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना, ठगी, आपराधिक विश्वासघात र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूर मुद्दामा अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार उनले प्रभु ग्रुपअन्तर्गतका कम्पनीहरू प्रयोग गरी सहकारी संस्थाहरूबाट जम्मा भएको रेमिट्यान्स रकम दुरुपयोग गरेका छन्।
स्रोतका अनुसार, ठाकुर प्रसाद मानन्धर र कुसुम लामाले संयुक्त रूपमा दर्ता गराएको जाहेरीका आधारमा भट्टचनमाथि अनुसन्धान सुरु गरिएको हो। लामा भट्टचनको व्यवसायिक साझेदार हुन्।
जाहेरीमा उल्लेख भएअनुसार, प्रभु मनी ट्रान्सफर प्रा.लि. र प्रभु म्यानेजमेन्ट प्रा.लि. बीच सन् २०६९ सालमा भएको करार सम्झौता अन्तर्गत देशभरका सहकारी संस्थाहरूलाई सुपर एजेन्ट को रूपमा प्रयोग गरिएको थियो। ती सहकारीहरूले प्रभु म्यानेजमेन्टमार्फत ग्राहकलाई रेमिट्यान्स रकम भुक्तानी गर्ने जिम्मेवारी पाएका थिए।
तर, प्रहरी अनुसन्धानका अनुसार, उक्त रकम प्रभु म्यानेजमेन्टले सहकारी संस्थाहरूलाई नतिरी भट्टचनले आफैं वा आफ्नो नियन्त्रणमा रहेका निकायमार्फत हिनामिना गरेका छन्। यसरी ३ दर्जनभन्दा बढी सहकारी संस्थाबाट उजुरी दर्ता भएको र सोही आधारमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि सीआईबीले उनलाई मंगलबार ललितपुरको गोदावरी नगरपालिका–३ टौकेलबाट नियन्त्रणमा लिएको हो।
भट्टचनमाथिको मुख्य आरोप अनुसार, प्रभु रेमिटको एजेन्टका रूपमा काम गर्ने सहकारीहरूले सदस्यता बापत जम्मा गरेको रकम र ग्राहकलाई भुक्तानी गर्नुपर्ने रेमिट्यान्स रकम उनले गैरकानूनी रूपमा प्रयोग गरे। उनले प्रभु म्यानेजमेन्टको रकम आफ्नै नाममा ट्रान्सफर गरी कम्पनीलाई ऋणमा डुबाएको र डुबेको कम्पनीको सेयर व्यवसायिक साझेदार लामाको नाममा ट्रान्सफर गरिएको पनि जाहेरीमा उल्लेख छ।
सीआईबीका अनुसार, भट्टचन लामो समयदेखि अनुसन्धानबाट बच्न लुकिछिपी बसिरहेका थिए। हाल उनलाई नियन्त्रणमा लिएर प्रारम्भिक बयान प्रक्रिया सुरु गरिएको छ र संकलित प्रमाणका आधारमा थप अनुसन्धान अगाडि बढाइने भएको छ।
प्रहरी स्रोतका अनुसार, भट्टचनमाथि ठगी, आपराधिक विश्वासघात, आपराधिक लाभ र राष्ट्र बैंक ऐन उल्लङ्घन अन्तर्गत मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ। यस घटनाले सहकारी क्षेत्र, रेमिट व्यवसाय र निजी लगानी प्रणालीमा पारदर्शिता तथा नियमनबारे गम्भीर प्रश्न उठाएको छ।