काठमाडौँ, ७ कार्तिक २०८२ ।
कम्युनिस्ट घटकहरुबीच एकताको प्रयास चलिरहेका बेला नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकीकरण हुने लगभग निश्चित भएको छ । यो एकतामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई पनि समेट्ने प्रयास जारी छ ।
एकता वार्तामा सहभागी नेताहरूका अनुसार माओवादी केन्द्र र नेकपा एसबीच अब पार्टी एकीकरणमा कुनै विमति छैन । नेतृत्वको विषयमा टुंगो लगाउन माओवादी संयोजक प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई जिम्मा दिइएको वार्ता टोलीका एक सदस्यले बताए ।
निर्वाचन आयोगले दल दर्ताका लागि दिएको समयअघि नै दुई पार्टीबीच एकीकरण भइसक्ने बताइएको छ । पार्टीको चुनाव चिन्ह्बारे भने सहमति भइसकेको छैन । नेकपा एसले कलम नै राखौँ भनिरहेको छ भने माओवादीले अर्को खोजौँ भन्दै छ । यसबारेमा पनि ठूलो विमति भने नहुने नेताहरू बताउँछन् ।
स्रोतका अनुसार पार्टी एकीकरणका लागि सिद्धान्त र नीति कार्यक्रमको विषय टुंगिएको छ । पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद लेनिनवाद रहनेछ भने कार्यनीति तथा कार्यक्रम नेपाली विशेषतासहितको समाजवाद रहनेछ ।
नेकपा माओवादी केन्द्रले माओवादलाई छाड्नेछ भने नेकपा एसले जनताको बहुदलीय जनवाद यसअघि नै छाडेको छ । अबको पार्टीको नीति तथा लक्ष्य नेपाली विशेषतासहितको समाजवाद रहनेछ । त्यसमा जबजका आधारभूत मूल्य मान्यताहरू यथावत् राखिएको नेकपा एसका नेताहरूले बताएका छन् ।
एकीकरणपछि बन्ने पार्टीको नाममा अन्तिम टुंगो लाग्छ बाँकी छ । तर नेपाल कम्युनिस्ट पार्टी समाजवादी वा नेपाली कम्युनिस्ट पार्टी समाजवादी नाम रहनेछ । पार्टीको नामको पछाडि समाजवादी भने राखिने वार्तामा सहभागी नेताहरूको भनाइ छ ।
नेकपा समाजवादी अर्कैको नाममा दर्ता रहेकाले वार्ताका क्रममा पार्टीको नाम नेकपा समाजवादी केन्द्र राख्ने प्रस्ताव पनि आएको थियो । तर नेकपा समाजवादी केन्द्रको छोटकारीनाम नेकपा ‘सके’ हुने भएकाले त्यो नाम नराख्ने र अहिलेकै नेकपा समाजवादी दर्ता गर्ने पक्षसँग छलफल गरेर टुंग्याइने भएको छ ।
पार्टीको नाम,नीति र सिद्धान्तमा सहमति भएपछि नेतृत्वको विषयमा अन्तिम सहमति जुटाउन प्रचण्ड र माधवलाई दिइएको छ । विप्लवले ढिला गरे पनि दुई पार्टीबीच भने ढिला नगरी एकता घोषणा गर्दा अरू घटकहरूसँग एकताको वातावरण बन्ने नेतृत्व तहको बुझाइ रहेको छ ।
नेतृत्वको विषयमा भने प्रचण्ड संयोजक र माधव नेपाल सहसंयोजक बन्ने एउटा मोडालिटी पेश गरिएको छ । अर्कोतर्फ दुई अध्यक्षको विकल्प अघि सारिए पनि त्यो मोडालिटी पहिले नै असफल भएकोले त्यसतर्फ जान नहुनेमा दुवै पक्ष सहमत छन् । विप्लवसहितको एकता हुँदा अध्यक्ष मण्डलको प्रस्तावमाथि समेत छलफल भइरहेको छ ।
पार्टीको मुख्य नेतृत्व प्रचण्ड र माधवले मिलाएपछि दुवै पक्षका पदाधिकारी मिलाएर सचिवालय बनाउने र अरू कमिटीहरू समायोजन गर्ने गरी छलफल अन्तिम चरणमा पुगेको छ ।
सरकारले प्रतिनिधि सभा निर्वाचनको मिति फागुन २१ लाई तोकेको छ।
निर्वाचनको कार्यतालिका पनि आएको छ। त्यसअनुसार कात्तिक ३० गतेभित्र दर्ता भएका दलले मात्रै निर्वाचनमा भाग लिन पाउनेछन्। निर्वाचन प्रयोजनका लागि पुनः दल दर्ता गर्नुपर्ने संवैधानिक प्रावधानले पनि दुई पार्टीलाई एकताको हतारो लगाएको हो।
चुनाव चिह्नबारे पनि छलफल भइरहेको दुवै पार्टीका नेताहरूले बताएका छन्। अहिले माओवादी केन्द्रले गोलाकार भित्र हँसिया हथौडा प्रयोग गरिरहेको छ। एकीकृत समाजवादीले कलम चिह्न प्रयोग गर्दै आएको छ। तर यी दुवै चिह्न नराख्ने पक्कापक्की भएको ती नेताले बताए।
माओवादी केन्द्रसँग एकता गर्ने भएपछि एकीकृत समाजवादीभित्र असन्तुष्टि चुलिएको छ। एकीकृत समाजवादीभित्र समाजवादी मोर्चा घटक दलसँग एकता होइन पहिले पार्टी पुनःगठनको बहस पनि बाक्लिइरहेको छ। असोजको अन्तिम साता बसेको स्थायी कमिटी बैठकमा ७ जनाले माधवकुमार नेपालको राजीनामा नै माग गरेका थिए।
पत्नीको उपचारका लागि भारत रहेका पार्टीका सम्मानित नेता झलनाथ खनालले बेला न कुबेला एकताको सहनाइँ नबजाउन चेतनावनी दिएका थिए।