काठमाडौँ, ७ कार्तिक २०८२ ।
सोलुखुम्बुमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
माप्य दुधकोशी गाउँपालिकाबाट महाकुलुङ गाउँपालिकातर्फ जाँदै गरेको बागमती प्रदेश ०१ ०३१ च ५९२४ नम्बरको जिप माप्य दुधकोसी–६ स्थित भिरकुनामा बिहीबार साँझ ६ः ३० बजेको समयमा दुर्घटनाग्रस्त हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो भने छ जना घाइते भएका छन्।
सडकबाट करिब पाँच सय मिटर तल खसेर भएको उक्त जिप दुर्घटनामा मृत्यु भएका तीन जनाको सनाखत हुन् बाँकी रहेको जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुका डिएसपी मनोजित कुँवरले जानकारी दिए।
प्रहरीका अनुसार , दुर्घटनामा जिपचालक महाकुलुङ–३ का ३२ वर्षिय श्रीध्वज राई, महाकुलुङ–४ की १६ वर्षीया गंगा राई र १८ वर्षीया बस्तिकला राई, १६ वर्षीया सामया राई, १६ वर्षीया सजना राई, महाकुलुङ–२ का १० वर्षीया उमेश राई घाइते भएका छन्। उनीहरूलाई तत्काल वाकुबाट पुगेको प्रहरी टोलीले उद्धार गरी सोताङ प्राथमिक स्वास्थ्य अस्पताल पठाइएको प्रहरीले बताएको छ।
जिप चालक श्रीध्वज राईको हात र टाउकोमा चोट लागेको जनाइएको छ। त्यस्तै गंगा राई र बस्तिकला राई दुबैको टाउकोमा चोट लागेको छ। हाल अवस्था मध्यम रहेको छ ।
त्यस्तै सामया राईको टाउकोमा मध्यम चोट लागेको छ भने १६ वर्षीया सजना राई को दाहिने खुट्टामा सामान्य चोट लागेको छ । उमेश राईको निधारमा हल्का पेल्सिएको जनाइएको छ।
प्राप्त जानकारी अनुसार दुर्घटनाग्रस्त बोलेरोमा रहेका यात्रुहरू खुम्बु क्षेत्रबाट ट्रेकिङ सकेर घर फर्किँदै गर्दा दु,र्घटना भएको हो। घटनास्थलमा वाकुबाट तत्काल प्रहरी टोली पुगेको थियो भने सोताङबाट थप प्रहरी निरीक्षण टोली पनि पठाइएको थियो। प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान शुरु गरेको जनाएको छ।