पोखरा, १५ जेठ २०८१/
मध्यराती गोर्खाको एक मोबाइल पसलमा चोरी गरेर भाग्दै गरेका एक युवालाई प्रहरीले गोर्खा बजारबाट पक्राउ गरेको छ। गोरखा नगरपालिका वडा नं.६ कालीमाटीमा रहेको प्रविण मोबाईल पसलमा गएराती चोरी गरेर भाग्दै गरेका युवालाई प्रहरीले पक्राउ गरेको हो।
उक्त मोबाइल पसल चोरी गरेको आरोपमा सिन्धुली घर बताउने बर्ष २० को कुमार मोक्तानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ। गोरखा ८ चाईनिजधारामा डिउटीमा खटिएका प्रहरी हवल्दार सन्तोष परियार र प्रहरी सहायक हवल्दार मधुसुदन बिष्टको टिमले गएको राती तीन बजेको समयमा शंकश्पद देखिएका पुनलाई खानतलासी लिंदा चोरीका सामान बरामद भएको प्रहरीले बताएको छ।
अभियुक्त पुनको साथबाट उक्त मोबाइल पसलबाट चोरी भएको ठानिएको मोबाईल थान-१२, पावर ब्यान्क थान-१, स्पिकर थान-२, नमस्तेको नयाँ सिमकार्ड थान-८, एनसेलको नयाँ सिमकार्ड थान-१२, मोबाईलको स्क्रिन ग्लास थान-३, नगद रु.२०५। र सानो झोला थान-१ बरमाद भएको प्राप्त जानकारीमा उल्लेख छ। उक्त चोरी सम्बन्धमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
यसैबीच रातको समयमा कर्तव्यनिष्ट भएर चलाखपूर्ण तरीकाले ड्युटी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय गोरखाले प्रहरी हवल्दार सन्तोष परियार र प्रहरी सहायक हवल्दार मधुसुदन बिष्टलाई प्रहरी नियमावली २०७१(संसोधन सहित) बमोजिम पुरस्कृत गरेको प्रहरीले जनाएको छ।