गण्डकी प्रदेशसभा सदस्य पन्चराम गुरुङलाई पराजित गर्दै अर्जुन खनाल बने राप्रपा गण्डकीको अध्यक्ष

गण्डकी प्रदेशसभा सदस्य पन्चराम गुरुङलाई पराजित गर्दै अर्जुन खनाल बने राप्रपा गण्डकीको अध्यक्ष


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २२ असोज २०८३
  • 380
    Shares

अर्जुन खनालन पन्चराम गुरुङ

काठमाण्डौ, २२ असोज २०८३।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गण्डकी प्रदेशको अध्यक्षमा गण्डकी प्रदेशसभा सदस्य पन्चराम गुरुङ पराजित भएका छन्। उनलाई पार्टीको केन्द्रीय सदस्य समेत रहेका अर्जुन खनालले पराजित गरेका हुन्।

बुधबार सम्पन्न पार्टीको दोस्रो प्रदेश अधिवेशनमा खनालले पञ्चराम गुरुङलाई २५ मत अन्तरले पछि पार्दै अध्यक्ष पदमा बिजयी बनेका हुन् ।

खनालले एकसय ८९ मत प्राप्त गर्दा गुरुङले एकसय ६४ मत पाए। अधिवेशनमा चारसय २८ मतदाता रहेकामा तीनसय ६० जनाले मतदान गरेका थिए। त्यसमध्ये सात मत बदर भएको निर्वाचन समितिले जनाएको छ।

अध्यक्षमा सहमतिको प्रयास भए पनि सहमति जुट्न नसकेपछि मतदानमार्फत नेतृत्व चयन गरिएको हो। अध्यक्षबाहेक प्रदेश कार्यसमितिका सदस्य भने सर्वसम्मत निर्वाचित भएका छन्।

अधिवेशनबाट ४१ सदस्यीय प्रदेश कार्यसमिति निर्वाचित भएको छ। उपलब्ध नामावलीअनुसार कार्यसमितिमा अशोक गुरुङ, अर्जुन बस्नेत, इन्द्रबहादुर मल्ल, कृष्णकुमार तिवारी, किशोर खरेल, गोविन्द पुन, डम्बरबहादुर सुवेदी, दीपक भण्डारी, दीपकराज उपाध्याय, दुर्गाबहादुर मल्ल, पूर्णबहादुर थापा क्षेत्री, प्रभू गुरुङ, कुलमाया कामी, बिन्दु मल्ल, हिमराज भण्डारी, मदन परियार, मनीष केसी, यामबहादुर बराल, रमेशराज पाण्डेय, रामनाथ उप्रेती, समीक्षा बुढाथोकी थापा, शान्ति हमाल र सुशीला सापकोटा थापासहितका सदस्य छन्।

कार्यसमितिमा अध्यक्षबाहेक बाँकी २५ प्रतिशत सदस्य मनोनीत गर्ने अधिकार नवनिर्वाचित अध्यक्ष खनाललाई दिइएको छ। त्यसैगरी प्रदेशका पदाधिकारी चयनको जिम्मेवारी पनि अध्यक्षकै हुनेछ।

राप्रपा गण्डकीको प्रदेश कार्यसमितिमा अध्यक्षसहित तीन उपाध्यक्ष रहने व्यवस्था छ। तीन उपाध्यक्षमध्ये एक महिला हुनेछन्। त्यस्तै सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र प्रवक्ता रहनेछन्। यी पदाधिकारीको चयन पछि गरिनेछ।

अध्यक्षमा निर्वाचित खनाल राप्रपाका केन्द्रीय सदस्य तथा केन्द्रीय पर्यटन विभागका सदस्य हुन्। उनी गत प्रतिनिधिसभा निर्वाचनमा कास्की–३ बाट उम्मेदवार बनेका थिए।

खनालका प्रतिस्पर्धी पञ्चराम गुरुङ यसअघि चार वर्ष राप्रपा गण्डकीको अध्यक्षका रूपमा नेतृत्व गरिसकेका छन्। उनी हाल गण्डकी प्रदेशसभामा राप्रपा संसदीय दलका नेतासमेत हुन्।

अधिवेशनको निर्वाचन अमृत पुडासैनी नेतृत्वको निर्वाचन समितिले गराएको थियो। अधिवेशनको उद्घाटन राप्रपाका केन्द्रीय उपाध्यक्ष हेमजंग गुरुङले गरेका थिए। उनले पार्टीभित्र एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिँदै सरकारका सकारात्मक कामको समर्थन र कमजोरीको आलोचना गर्नुपर्ने बताएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार