बर्दियामा गुडिरहेको ईभी हाइसमा अचानक आगलागी

बर्दियामा गुडिरहेको ईभी हाइसमा अचानक आगलागी


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ४ असोज २०८३
  • 418
    Shares

पोखरा, ४ असोज २०८३ ।

बर्दियास्थित महेन्द्र राजमार्गमा गुडिरहेको एउटा विद्युतीय सवारी (ईभी) हाइसमा आइतबार बिहान अचानक आगलागी हुँदा पूर्णरुपमा क्षतिग्रस्त भएको छ।

कोहलपुरबाट कैलालीको धनगढीतर्फ जाँदै गरेको सु.प.प्र. ०१-००२ ज ४३३ नम्बरको भाडाको फोटोन ईभी हाइसमा बिहान करिब ६:५० बजे आगलागी भएको हो। बर्दियाको बारबर्दिया नगरपालिका-७ स्थित रम्मापुर, ५ नम्बर चोक नजिक महेन्द्र राजमार्गमा गुडिरहेको अवस्थामा गाडीमा एक्कासी आगो सल्किएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए।

डिएसपी बोहराका अनुसार, “कोहलपुरबाट कैलाली जाँदै गरेको ईभी हाइसमा गुड्दागुड्दै अचानक आगलागी भएको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा खटिएको थियो। गाडीमा चालक र सहचालक मात्र रहेकाले कुनै मानवीय क्षति हुन पाएन।”

उक्त गाडी कैलालीको धनगढी उपमहानगरपालिका-३ बस्ने ३८ वर्षीय नरेन्द्र नेगीले चलाएका थिए। गाडीमा चालक र सहचालक बाहेक अन्य यात्रु नरहेकाले ठूलो दुर्घटना टरेको प्रहरीले जनाएको छ।

आगलागीबाट मानवीय क्षति नभए पनि गाडीमा रहेका सवारी कागजात र नगद ४२ हजार रुपैयाँ जलेर पूर्ण रूपमा नष्ट भएको छ। घटना लगत्तै पुगेको प्रहरी टोली र ठाकुरबाबा नगरपालिकाको दमकलको सहयोगमा बिहान ८:०० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको डिएसपी बोहराले बताउनुभयो।

आगलागीका कारण महेन्द्र राजमार्गमा सवारी आवागमनमा कुनै अवरोध नपुगेको र सडक सुचारु रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया