यी हुन्, रसुवा बाढीमा सम्पर्कविहीन २७ जना प्रहरी

यी हुन्, रसुवा बाढीमा सम्पर्कविहीन २७ जना प्रहरी


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १३ भाद्र २०८३
  • 874
    Shares

पोखरा, १३ भदौ २०८३।

काठमाडौं । रसुवामा आएको बाढीपछि नेपाल प्रहरीका २७ जना कर्मचारी सम्पर्कविहीन भएका छन्। बाढीमा परेका एक प्रहरी कर्मचारीको भने शव फेला परेको छ।

नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार साँझ सार्वजनिक गरेको विवरणअनुसार रसुवामा बाढीपछि सम्पर्कविहीन भएका २७ जना र मृत फेला परेका एक जना गरी २८ प्रहरी कर्मचारी प्रभावित भएका छन्।

बुधबार बिहान आएको बाढीपछि रसुवागढी प्रहरी चौकीमा कार्यरत प्रहरीहरू सम्पर्कविहीन भएका थिए। चौकीमा ९ जना कार्यरत रहेकामा एक जना बिदामा रहेका र बाँकी ८ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

सम्पर्कविहीन हुनेमा प्रहरी सहायक निरीक्षक (असई) सुरज गिरी, प्रहरी हवल्दार विकासबाबु अधिकारी, प्रहरी सहायक हवल्दार हिक्मत महरा तथा प्रहरी जवानहरू ओमबहादुर सिजापति मगर, मिलन श्रेष्ठ, राजेन्द्र महतरा, अनिल थारु र सन्दीप भर रहेका छन्।

त्यस्तै, इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत दुई असईसहित १० जना प्रहरी पनि सम्पर्कविहीन छन्। असई समबहादुर थापा र रामहरि खड्का सम्पर्कमा नरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

टिमुरेमा कार्यरत प्रहरी हवल्दार श्रवणकुमार यादव र दिपेन्द्र विष्ट, सहायक हवल्दार नरेन्द्रप्रसाद भट्ट, सनकुमार तामाङ र निर्मल लामा तामाङ तथा प्रहरी कर्मचारीहरू सम्राट शेर्पा, कृष्ण बुढा मगर र सन्तराम थारु पनि बाढीपछि सम्पर्कविहीन छन्।

स्याफ्रुबेसीमा कार्यरत तीन जना प्रहरी पनि सम्पर्कविहीन छन्। उनीहरूमा असई विनोद अधिकारी, सहायक हवल्दार हरेन्द्रप्रसाद यादव र प्रहरी जवान कर्णबहादुर गुरुङ रहेका छन्।

यस्तै, हाइड्रोपावरको ड्युटीमा खटिएका हाकु चौकीका प्रहरी जवान सुशिल तामाङ, अस्थायी प्रहरी पोष्ट मैलुङका प्रमुख प्रहरी नायव निरीक्षक (सई) मदनराज स्याङबो, प्रहरी हवल्दार नविन कुमार सिंह र केसरराज चालिसे तथा प्रहरी जवानहरू डिलबहादुर मगर र आशिष गडरिया पनि सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

यसैबीच, प्रहरी चौकी बेत्रावतीमा कार्यरत असई रामकाजी पौडेल भने स्थानीयलाई बाढी आएको जानकारी गराउन माइकिङ गरिरहेका बेला बाढीले बगाएका थिए। उनको शव चितवनमा फेला परेको प्रहरीले जनाएको छ। नुवाकोट घर भएका पौडेलको शुक्रबार नै अन्त्येष्टि गरिएको छ।

रसुवामा बाढीपछि प्रहरी मात्र नभई नेपाली सेना र सशस्त्र प्रहरीका कर्मचारीसमेत सम्पर्कविहीन भएका छन्। विवरणअनुसार ४५ जना नेपाली सैनिक र १३ जना सशस्त्र प्रहरी पनि सम्पर्कविहीन छन्।

बाढी प्रभावित क्षेत्रमा बेपत्ता सुरक्षाकर्मीको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया