पोखरा, ६ पुस २०८२।
नेपाल–भारत सीमा सुरक्षामाथि गम्भीर प्रश्न उठ्ने गरी पर्सा जिल्लाको धोबिनी क्षेत्रमा बर्दीसहित भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गरेका छन्। भारतीय प्रहरीको गाडीमै आएका सुरक्षाकर्मीहरू नेपालभित्र देखिएपछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन् भने प्रशासन भने अनभिज्ञजस्तै देखिएको छ।
शुक्रबार भारतीय सुरक्षाकर्मी बर्दीमै नेपाल प्रवेश गरेको देखेपछि स्थानीयले तत्काल रोक्दै प्रश्न गरेका थिए। सार्वजनिक भएको भिडियोमा स्थानीय बासिन्दाले भारतीय अधिकारीलाई स्पष्ट शब्दमा सोधेको सुनिन्छ— “नेपालमा के गर्न आएको?”। उक्त भिडियो अहिले सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ।
धोबिनी गाउँपालिकाका अध्यक्ष मदनप्रसाद चौहानका अनुसार भारतीय प्रहरी सीमावर्ती क्षेत्रबाट वडा नम्बर ५ भित्रसम्म प्रवेश गरेको थियो। उनका अनुसार सुरक्षाकर्मीहरू कुनै व्यक्तिलाई खोज्न आएको जस्तो देखिए पनि आफू घटनाको समयमा बाहिर रहेको बताएका छन्। पछि नेपाल प्रहरीमार्फत समन्वय गरेर भारतीय पक्षलाई फिर्ता पठाइएको उनको भनाइ छ।
तर घटनाले झनै गम्भीर मोड तब लियो, जब पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बर्दीमा भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गरेको विषय आफूलाई थाहा नै नभएको प्रतिक्रिया दिए। उनले सादा पोसाकमा आएको भन्ने सुनेको दाबी गर्दै प्रहरी समन्वयमै पठाइएको हुनसक्ने बताए।
यो घटना कुनै नयाँ भने होइन। नेपाल–भारत सीमा क्षेत्रमा यसअघि पनि पटक–पटक भारतीय सुरक्षाकर्मी बर्दी र हतियारसहित नेपाल प्रवेश गर्ने गरेका छन्। केही अवसरमा स्थानीयले नियन्त्रणमा लिएका घटनासमेत छन्। तर ती सबै घटनामा भारतीय सुरक्षाकर्मीहरूलाई कुनै कारबाही नगरी भारतीय पक्षकै जिम्मा लगाएर छाडिँदै आएको छ।
बारम्बार दोहोरिँदै आएको यस्तो घटनाले नेपालको सीमा सुरक्षा, सार्वभौमिकता र प्रशासनिक क्षमतामाथि गम्भीर प्रश्न खडा गरेको छ। स्थानीय स्तरमा आक्रोश बढिरहेको बेला केन्द्र सरकार र सुरक्षा निकायको मौनताले थप शंका र असन्तोष जन्माइरहेको छ।
नेपालभित्र बर्दीसहित विदेशी सुरक्षाकर्मीको प्रवेश सामान्य घटना होइन। तर यस्ता घटनामा न त स्पष्ट जवाफ आइरहेको छ, न त कडा कदम। प्रश्न अझै उस्तै छ— नेपालको सीमा वास्तवमै सुरक्षित छ त