पोखरा ४ पुष २०८२।
२७ वर्ष अघि वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा दोषी ठहर ७० वर्षीया बृद्धा स्याङ्जाबाट पक्राउ परेकी छिन्।
वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा दोषी ठहर भएकी स्याङ्जाको पुतलीबजार नगरपालिका–९ बस्ने ७० वर्षीया कृष्णकुमारी गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीविरुद्ध स्याङ्जा जिल्ला अदालतले वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा विसं २०५५ साल जेठ २५ गते दोषी ठहर गर्दै ९९ हजार १५० जरिवाना हुने फैसला गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ।
उक्त फैसलापश्चात भाग्दै आएकी गुरुङलाई जिल्ला प्रहरी कार्यालय, स्याङ्जाबाट खटिएको विशेष अप्रेसन टोलीले पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। लामो समयसम्म जरिवाना भुक्तान नगरी फरार रहेकी उनलाई मिति २०८२/०९/०१ गते पक्राउ गरी जरिवाना असुलका लागि स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।
अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउँदै न्यायिक प्रक्रियालाई पूर्णता दिन तथा सुरक्षित र न्यायपूर्ण समाज निर्माणका लागि यस्ता अभियान निरन्तर जारी रहने जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।