पोखरा, २२ कात्तिक २०८२।
गण्डकी प्रदेशमै सहकारी ठगीको केन्द्र बिन्दु प्रदेश राजधानी पोखरा रहेको खुलेको छ।
सहकारी समस्या समाधानसम्बन्धमा शुक्रबार पोखरामा आयोजित अन्तरक्रिया कार्यक्रममा सहकारी रजिस्ट्रारको कार्यालय, गण्डकीका रजिस्ट्रार भेषराज रिजालले त्यस्तो तथ्य खुलाएका हुन्।
उक्त कार्यक्रममा गण्डकी प्रदेशका सहकारी रजिस्ट्रार रिजालले गण्डकी प्रदेशका विभिन्न सहकारीबाट पाचं अर्ब ६३ करोड ४१ लाख ३९ हजार नौ सय ६२ रुपैयाँ हिनामिना भएको जानकारी दिए। ती मध्ये सबैभन्दा बढी रकम कास्कीको पोखरामा सञ्चालनमा रहेका सहकारीहरूबाट हिनामिना भएको उनले बताए।
रिजालका अनुसार , प्रदेशभरका १७ सहकारीको मुद्दा विचाराधीन अवस्थामा रहेको छ। पोखराको प्राइम बहुउद्देश्यीय सहकारी संस्थाबाट एकअर्ब ५४ करोड रुपैयाँ, म्याग्दीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाबाट एक अर्ब ४९ करोड रुपैयाँ र बाग्लुङमा प्रधान कार्यालय रहेको इमेज बचत तथा ऋण सहकारी संस्था लि.बाट एकअर्ब ३३ करोड रुपैयाँ हिनामिना भएको तथ्यांकमा उल्लेख छ।
रजिस्ट्रार रिजालका अनुसार गण्डकी प्रदेशभर ९०१ वटा सहकारी दर्तामा छन्। तीमध्ये ५८३ ले अद्यावधिक गरेका छन् भने ३१८ वटा सहकारी निष्क्रिय छन्। जिल्लागत रूपमा कास्कीमा सबैभन्दा बढी २२५ वटा सहकारी दर्ता भएका छन् भने सबैभन्दा कम मनाङमा एउटा मात्र सहकारी छ। यी सहकारीहरूमा ६ लाख ९४ हजार २१९ शेयर सदस्य छन् भने २ हजार २३५ कर्मचारी कार्यरत छन्।
रिजालले सहकारीमा अधिक लाभांश वितरण गर्ने प्रवृत्ति, पुँजी र निक्षेपको बचत अनुपात नमिल्नु, स्रोतमा लागत विश्लेषण गर्न नसक्नु, कमजोर संस्थागत संयन्त्र, आन्तरिक वित्तीय व्यवस्थापन कमजोर, नियामक व्यवस्थाको अभाव, कानुनको परिपालन नहुनु, तरलताको प्रभाव, कमजोर धितो राखी ऋण प्रवाह गर्ने, बिना धितो ठूला ऋण प्रवाह गर्ने जस्ता कारणले समस्या भोगिरहेको बताए। ऋण लगानीको असुलीमा ध्यान नदिँदा, कर छली गरी गैरकानुनी रूपमा सीमित व्यक्तिले बोनस लिँदा, साधारणसभामा गणपूरक संख्यासमेत नपुगी यथार्थ निर्णय नहुँदा पनि समस्या परिरहेको उनको भनाइ थियो।