पोखरा, २१ कात्तिक २०८२।
पोखरा बचत तथा ऋण सहकारी संस्थाको बचत हिनामिनापछि बचतकर्तालाई जाहेरी दिन प्रहरीले सूचना जारी गरेको छ ।
झण्डै ८९ करोड हिनामिना भएको भनिएको उक्त सहकारी ठगी प्रकरणमा पिडित शेयरदाता एबम बचतकर्तालाई प्रहरीमा जाहेरी दिन प्रहरीले सुचना जारी गरेको हो।
प्रहरीले जारी गरेको सार्वजनिक सुचनामा बचत र कारोबारको प्रमाण, कागजातसहित मंसिर २ गतेभित्र जाहेरी दिन प्रहरीले आग्रह गरिएको छ।
‘सहकारीमा रकम जम्मा गरेको आधार देखिने सेयर धनी प्रमाण पत्र, पासबुक, भौचर, स्टेटमेन्ट, मुद्दती प्रमाण पत्र लगायतको प्रमाण र सम्बन्धित पीडित बचतकर्ताको नागरिकता समेतको परिचय खुल्ने कागज सहित कानुनबमोजिम सहकारी ठगी शीर्षकमा जाहेरी दरखास्त लिई यस जिल्ला प्रहरी कार्यालय कास्कीमा सम्पर्क राख्नु हुन सम्पूर्ण बचतकर्ताहरुमा सूचित गरिएको छ,’ सूचनामा भनिएको छ ।
उक्त सहकारी ठगि प्रकरणमा सहकारी रजिस्ट्रार कार्यालयको सिफारिसका आधारमा प्रहरीले आठ जनालाई पक्राउ गरिसकेको छ । सहकारीको झण्डै ८९ करोड हिनामिना भएको वित्तीय रिपोर्टमा उल्लेख छ । कास्की प्रहरीले सहकारीका अध्यक्ष सुरेन्द्र बहादुर गोदार, उपाध्यक्ष शम्भुराज बाँस्तोला, सचिव दिल बहादुर केसी, कोषाध्यक्ष हिरामणि दाहाल, व्यवस्थापक भीष्मप्रताप गुरुङलाई पक्राउ गरेको छ ।
यस्तै सदस्य दोर्जे तामाङ, सुपरभाइज मार्केट प्रमुख, बेदीप्रसाद सुवेदी पनि पक्राउ परेका छन् । थप प्रतिवादीहरूको खोजी भइरहेको कास्की प्रहरीका सूचना अधिकारी हरीबहादुर बस्नेतले जानकारी दिए ।
सहकारीको ठगी आरोपमा सञ्चालकसँगै ऋणीलाई पनि प्रतिवादी बनाएर कारबाही गर्न रजिस्ट्रारको कार्यालयले सिफारिस गरेको छ । ऋणी मात्रै ३ सयभन्दा बढी तथा वर्तमान र पूर्वसहित ३५ जना सञ्चालक समिति सदस्य कारबाहीको भागीदार रहेका रजिस्ट्रार भेषराज रिजालले बताए ।