पोखरा, ३० भदौ २०८२।
श्रीमानलाई रुखमा बाँधेर मकवानपुरमा राम्रोसंग बोल्न नसक्ने दुई महिनाको सुत्केरी चेपाङ् महिलामाथि वलात्कार भएको छ।
पश्चिम मकवानपुरको राक्सिराङ–१, इन्द्रुङमा राम्रोसँग बोल्न नसक्ने पिछडिएको वर्गको दुई महिनाको सुत्केरी चेपाङमाथि बलात्कार भएको हो। ती पिडित महिलाका श्रीमान पनि राम्रोसंग बोल्न नसक्ने अवस्थाका रहेको बताइएको छ।
प्राप्त विवरण अनुसार ,गत बिहीबार देशभर जेन जी आन्दोलन चर्कि रहेका बेला पिडित चेपाङ दम्पति जंगलनजिक एकान्तमा रहेको आफ्नो सानो छाप्रोमा बसिरहेका थिए। काम पनि नपाएपछि उनीहरु भोकै थिए। त्यही बेला रातको समयमा आएका स्थानीय ४२ वर्षीय अन्तरे थिङले श्रीमानलाई नजिकैको रुखमा बाँधे पछि उनको दुई महिनाकी सुत्केरी श्रीमतीलाई वलात्कार गरेको खबर आएको राक्सिराङ्ग गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष राजकुमार मल्लले जानकारी दिए।
भदौ २६ गते राति भएको यस्तो जघन्य अपराधको खबर आएको राक्सिराङ प्रहरी चौकीका इञ्चार्ज नवीन सिंहले बताए । उनले भने, ‘भोलिपल्ट खबर आएपछि जाहेर गरेका थियौँ, जेन्जी आन्दोलनका कारण तत्काल गाउँमा जाने अवस्था नबन्दा आइतबार मात्रै वडा नम्बर १ मा पुगेर आरोपीलाई समात्ने प्रयास भइरहेको उनले बताए । आरोपी गाउँमा बसिरहेको खबर वडाध्यक्षमार्फत आएपछि उनलाई समात्न प्रहरी पठाइएको जानकारी प्रहरीले दिएको छ।
प्रहरी चौकीका इन्चार्ज सिंहले भने, ‘रुखमा बाँधेर पत्नीमाथि कुकर्म गरिरहँदा अभियुक्तले उल्टै श्रीमानलाई कोही आएको छ कि छैन हेर भनेर काम अह्राएको पिडित महिलाले वडाध्यक्षसँग भनेका रहेछन् ।’
पिडित चेपाङ परिवार कामको अभावमा भोकभोकै रहेको खबर पाए पछि राक्सिराङ्ग गाउँपालिका वडा नम्बर १को कार्यालयले भदौ ३ गते ‘चामल, दाल, तेल, नून, त्रिपाल र कम्बल प्रदान गरेको वडाध्यक्ष मल्लले बताए।
यसैबीच भदौ ११ गते बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले पिडित चेपाङ परिवार बस्न दशैँअघि नै व्यक्तिगत रुपमै घर बनाइदिने प्रतिवद्धता जनाएका छन्।
मुख्यमन्त्री बानियाँले दुई कोठा, एउटा भान्सासहित शौचालय र बाथरुम सहितको घर दशैँअघि नै निर्माण गर्न निर्देशन दिएका छन् ।