सैनिक कल्याणकारी कोष दुरुपयोग प्रकरण : देश छाडेर भागेका नेपाली सेनाका दुई उच्च अधिकारीविरुद्ध डिफ्युजन नोटिस जारी सिफारिश

सैनिक कल्याणकारी कोष दुरुपयोग प्रकरण : देश छाडेर भागेका नेपाली सेनाका दुई उच्च अधिकारीविरुद्ध डिफ्युजन नोटिस जारी सिफारिश


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १ जेष्ठ २०८२
  • 5.4K
    Shares

पोखरा, १ जेठ २०८२।

सैनिक कल्याणकारी कोषको रकम दुरुपयोग मुद्दामा मुछिएपछि देश छाडेर भागेका नेपाली सेनाका दुई जना पुर्व उच्च अधिकारीविरुद्ध डिफ्युजन नोटिस जारी गर्न सिफारिश गरिएको छ।

सैनिक कल्याणकारी कोषमा भएको रकम हिनामिनाबारे अनुसन्धान गरिरहेको नेपाली सेनाले देश छाडेर भागेका दुई जना पुर्व उच्च अधिकारीविरुद्ध डिफ्युजन नोटिस जारी गर्न सिफारिश गरिएको हो।

देश छाडेर भागेको ठानिएका पुर्वकर्णेल लक्ष्मण अधिकारी र पूर्वमेजर समीर गुरुङबिरुद्ध डिफ्युजन नोटिस जारी गर्न सिफारिश गरिएको सैनिक प्रवक्ता (सहायकरथी) गौरव कुमार केसीले जानकारी दिए।

कोषको दुईकरोड २१ लाख ८५ हजार पाँचसय १५ रुपैयाँ घोटालामा संलग्न पूर्व कर्णेल लक्ष्मण अधिकारीविरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस जारी गर्न सेनाले प्रहरीलाई पत्राचार गरिसकेको छ। चितवनको रत्ननगर नगरपालिका–१४ घर भएका ४५ वर्षीय अधिकारी अमेरिका भागेको सैनिक अधिकृतहरू बताउँछन् ।

२०७७ सालमा भएको तीनकरोड ५० लाख घोटालामा संलग्न भएर फरार रहेका पूर्व मेजर समीर गुरुङविरुद्ध डिफ्युजन नोटिस जारी गर्न सेनाले जिल्ला प्रहरी परिसर काठमाडौँलाई पत्राचार गरेको छ । जङ्गी अड्डाको पत्रको आधारमा गुरुङ विरुद्ध डिफ्युजनको प्रक्रिया भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँ सम्बद्ध समाचार स्रोतहरुले जानकारी दिएका छन्।

हाल बेलायत भागेको आशंका गरिएका पूर्व मेजर गुरुङलाई फरार सूचीमा राखेर उनीविरुद्ध २०८१ माघ १३ गते काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भैसकेको छ ।

चितवन घर भएका ३९ वर्षीय गुरुङले कल्याणकारी निर्देशनालय अन्तर्गत आवास तथा बिमा शाखामा काम गर्दा फर्जी चेक जारी गरेर रकम हिनामिना भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

सेनाबाट राजीनामा गएका, उपदान र मृतकका परिवारले पाउने रकम आरोपीहरूले फर्जी नाममा चेक काटेर आफैँले लिएको बताइएको छ।

२०८१ माघमा पूर्व जमदार रवीन्द्र लुङ्गेलीलाई सेनाले आन्तरिक अनुसन्धान गरेर काठमाडौँ प्रहरीलाई जिम्मा लगाएको थियो । महोत्तरीको बर्दिबास घर भएर टोखामा बस्दै आएका लुङ्गेलीविरुद्ध प्रहरीले आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धान गरेको थियो । लुङ्गेलीको बयानको आधारमा समीर गुरुङ प्रतिवादी बनेका हुन् । सो मुद्दा पनि अहिले काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ ।

घोटालामा हाल बहालमा रहेका प्युठ टिकाराम गोतामे सहित उच्च अधिकृतहरू संलग्न देखिएका छन् । अहिले सहायक रथी रहेका हिम्मत बहादुर विष्ट, महासेनानी रोहित गुरुङ, सेनानी भरत कुमार लामा र महासेनानी झलेन्द्र भट्टराई त्यसबेला सैनिक कल्याणकारी निर्देशनालयमा कार्यरत थिए । पूर्व जमदार लुङ्गेलीले फर्जी चेकहरू महासेनानी झलेन्द्र भट्टराईलाई हस्ताक्षर गराउने गरेको बयान दिएका थिए । उनको बयानका आधारमा भट्टराईलाई अनुसन्धानको दायरामा ल्याइएको सैनिक अधिकृतहरू बताउँछन् । कल्याणकारी कोषमा चार लाख भन्दा माथिको कारोबार गर्दा सहायक रथी दर्जाको कर्मचारीको हस्ताक्षर अनिवार्य चाहिन्छ ।

२०७७ सालमा सैनिक कल्याणकारी निर्देशनालयमा काम गरेका लुङ्गेलीले कोषको १ करोड २५ लाख रुपैयाँ आफूले अपचलन गरेको स्विकारेका छन् । प्रहरी अधिकृतहरूसँगको बयानमा उनले भनेका छन्, ‘राजीनामा, उपदान र मृतकका परिवारले प्राप्त गर्ने आवास तथा बीमा बापतको रकम भुक्तानीको चेक बनाएर १ करोड २५ लाख रुपैयाँ लगेको हुँ ।’ सो रकमबाट सर्लाहीको लालबन्दी, भक्तपुरको च्याम्हासिंह र चितवनको सौराहामा पनि ३ कट्ठा जग्गा किनेको उनले स्विकारेका छन् । बयानमा उनले भनेका छन्, ‘१७ लाख खर्चेर छोरालाई अस्ट्रेलिया पठाएँ ।’

प्रतिक्रिया