पोखरा, २० बैशाख २०८१/
कमाण्डरलाई जोगाउन चितवन राष्ट्रिय निकुन्जमा नेपाली सेनाका एक जवानले हानेको गोली लागेर अर्का सैनिक जवान घाइते भएका छन्।
निकुन्जमा गस्ती गर्ने क्रममा भालुले आक्रमण गर्न थालेपछि साथीको बचाबका लागि भालुलाई ताकेर हानेको गोली लागेर अर्का सैनिक जवान घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालका अनुसार आज बिहान निकुञ्जको सौराहा क्षेत्रमा रहेको नयाँ गोरख गणबाट गएको नेपाली सेनाको टोलीका कमाण्डर हवल्दार लक्ष्मणकुमार थापालाई भालुले आक्रमण गरेको थियो । हवल्दार थापालाई जोगाउन उनकै टीमका सैनिकले हानेको गोली भालुलाई छेडेर अर्का सैनिक २३ वर्षका प्यूठ कुन्दन सिंहलाई लागेपछि उनी घाइते भएका छन् । घाइते सैनिक सिंहको खुट्टामा गोली लागेको डिएसपी रिजालले जानकारी दिए ।
भरतपुर अस्पतालमा उपचाररत सिंह खतरामुक्त छन् । यद्यपि उनको थप उपचारको लागि नेपाली सेनाको अस्पताल छाउनी रिफर गरिएको छ । डिएसपी रिजालका अनुसार भालुले आक्रमण गरेका हवल्दार लक्ष्मणकुमार थापा भने सामान्य घाइते छन् ।
आज बिहान पौने दस बजेको घटना भनिएपनि यस घटनाका बारेमा चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले भने आधिकारीक रुपमा कुनै पनि सूचना दिएको छैन । निकुञ्जका वार्डेन दिलबहादुर पूर्जा पुनले घटना भएको भएपनि विवरण भने लिन बाँकी नै रहेको बताए । उनले घटनाबारे सबै प्रतिवेदन आएपछि मात्रै आफूले जानकारी दिनसक्ने उनको भनाइ छ । समाचारस्रोत नेपाल प्रेस