आज ७४औँ प्रजातन्त्र दिवस : कार्यक्रमस्थलमा प्रवेश नदिइएपछि क्यामरा डाउन गरेर पत्रकारले गरे बिरोध

आज ७४औँ प्रजातन्त्र दिवस : कार्यक्रमस्थलमा प्रवेश नदिइएपछि क्यामरा डाउन गरेर पत्रकारले गरे बिरोध


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ७ फाल्गुन २०८०
  • 3.9K
    Shares

पोखरा, ७ फागुन २०८० /नेपालमा प्रजातन्त्र आएको आज ७४ वर्ष भएको छ। नेपालको संविधानले नागरिकको अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र प्रेसको अवधारणालाई सुनिश्चितता गरेको छ। तर ती सबै कागजको खोस्टामा सिमित भएका जस्ता देखिएका छन्।

जनतालाई सुचना उपलब्ध गराउन लागि परेका संचार माध्यमलाइ अझै पनि सही तरीकाले बुझेको देखिदैन। राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा मूल समारोह समितिले आज आयोजना गरेको कार्यक्रममा पत्रकारलाई प्रवेश दिइएको छैन ।

सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा प्रवेश नदिइएपछि फोटो पत्रकारहरूले क्यामेरा डाउन गरेर विरोध जनाएका छन् । सूचना तथा प्रसारण विभागको कार्डलेसमेत प्रवेश नदिएपछि पत्रकारहरूले सांकेतिक विरोध गरेका हुन् ।समारोहको निमन्त्रणपत्र भए मात्रै प्रवेश दिने भन्दै पत्रकारहरूलाई आयोजकले फर्काइदिएको छ ।

प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले १९९७ माघमा बलिदानी दिएका थिए।

प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरूलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो।

नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो।

जहानिया राणा शासनविरुद्ध जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासक जनतासमक्ष घुँडा टेक्न बाध्य भई प्रजातन्त्र स्थापना भएको घोषणा गरियो।

तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र कांग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भयो।

प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ।

जनक्रान्तिका माध्यमबाट राणा शासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ।

दिवसका अवसरमा सोमबार सरकारले सार्वजनिक बिदा दिएको छ।

प्रतिक्रिया