पोखरा, ६ फागुन २०८० /
काठमाण्डौस्थित प्रहरी प्रभाग बलम्बुका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठको पेस्तोलको गोली लागेर उनको बडीगार्डसहित दुई जना घाइते भएका छन्। ड्यूटी सकेर ९ एमएमको पेस्तोल कोतमा बुझाउन जाँदा एक्कासी प्रहरी निरिक्षक श्रेष्ठको पेस्तोलबाट चलेको गोली लागेर दुई जना घाइते भएका हुन्।
उनको बडीगार्डको खुट्टामा गोली लागेको छ। यस्तै प्रहरी कार्यालयमै रहेका सर्वसाधारणलाई पनि सामान्य चोट लागेको छ।
उनीहरू दुवै जनालाई उपचारका लागि सशस्त्र प्रहरी अस्पताल बलम्बुमा लगिएको छ। दुवै अवस्था खतरामुक्त रहेको उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले बताए।
यसैबीच प्राप्त जानकारी अनुसार, प्रहरी कार्यालयभित्रै गोली चलेपछि बलम्बुका प्रहरी प्रमुख प्रहरी निरिक्षक सुरेन्द्र श्रेष्ठ जिम्मेवारीबाट हटाइएका छन् । उनलाई सोधपुछका लागि भन्दै जिल्ला प्रहरी परिसर, काठमाडौं तानिएको हो ।
यसअघि प्रहरी प्रभाग बलम्बुकै एक जना प्रहरीको घर फर्किने क्रममा प्रहरी भ्यानबाट ओर्लिदा मृत्यु भएको थियो । प्रहरी कार्यालयमा हतियार बुझाएर मात्र घर जानुपर्नेमा उनी हतियार साथीलाई बुझाएर ड्यूटीबाट सिधै घर जान लागेका बेला घटना भएको हो ।
त्यसपछि प्रहरी यसमा आन्तरिक कमजोरीहरु देखिएको भन्दै जाँच गर्न एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा समिति बनाएको छ ।