प्रहरी निगरानीमा रहेका न्यौपानेको आत्महत्या पछि ‘सहकारी चोरी घटनामा मिसियो राजनीति

प्रहरी निगरानीमा रहेका न्यौपानेको आत्महत्या पछि ‘सहकारी चोरी घटनामा मिसियो राजनीति


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ६ फाल्गुन २०८०
  • 5K
    Shares

हाम्रो सुर्याेदय बचत तथा ऋण सहकारी संस्थाका पूर्व कोषाध्यक्ष कपिलमणी न्यौपाने

पोखरा, ६ फागुन २०८० /

दोलखाको मेलुङ गाउँपालिका–१ पवटीस्थित हाम्रो सूर्योदय सहकारीमा भएको चोरीको घटनाले नयाँ मोड लिएकोे छ । सहकारी चोरीको घटनामा दोलखा प्रहरीले निगरानी रहेको भनिएका सहकारीका पूर्व कोषाध्यक्ष एवँ सहकारीको कार्यालय रहेको घरधनी कपिलमणि न्यौपानेले आत्महत्या गरे पछि घटनाले नयाँ मोड लिएको छ ।

शनिबार विहान मात्रै ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेका न्यौपानेलाई आत्महत्या गर्न बाध्य बनाइएको भन्दै प्रहरीको चौतर्फी बिरोध शुरु भएको छ।

प्राप्त विवरण अनुसार, गत माघ १५ गते पवटीको रमाइलो चोकमा रहेको सूर्योदय सहकारीको भल्टबाट ३२ लाख ८५ हजार रुपैंया रकम चोरी भएको थियो । सो घटनामा दोलखा प्रहरीले संस्थाका व्यवस्थापक महेन्द्र भुजेल र पूर्व कोषाध्यक्ष न्यौपाने सहित चार जनालाई निगरानीमा राखेर अनुसन्धान गरिरहेको थियो । सहकारीका एक कर्मचारी र पवटीको रमाइलो चोकमा होटल व्यवसाय गर्दै आएका एक युवकलाई प्रहरीले अभ्रद व्यवहारमा म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । प्रहरीले सहकारी चोरीको घटनामा चार जनालाई नियन्त्रणमा लिए पनि राजनीतिक दवावका कारण न्यौपाने र भुजेललाई तारेखमा छाडेको थियो ।

प्रहरी श्रोतका अनुसार आत्महत्या गरेका पूर्व कोषाध्यक्ष न्यौपाने र व्यवस्थापक भुजेललाई जिल्ला प्रहरी कार्यालयमा झिकाएर मंगलवार र बुधवार ‘पोलिग्राफ टेष्ट’ गरिएको थियो । पोलिग्राफ परिक्षण गरेर घर फर्किएकै भोलिपल्ट न्यौपानले आत्महत्या गरेका हुन् । उनले आत्महत्या गर्नु अघि सामाजिक सञ्जालमा स्टाटस लेख्दै सूर्योदय सहकारी चोरीको घटना संचालक र कर्मचारीको मिलेमतोमा भएको भन्दै गम्भीर ढंगले छानविन गर्नु पर्ने बताएका छन् । न्यौपानेले बर्तमान र पूर्व संचालकको नाम किटान गरी लामो योजनाका साथ आफुलाई फसाउने खोजिएको उल्लेख गरेका छन् ।

न्यौपानेको आत्महत्यासँगै सहकारी चोरी घटनाको नयाँ ढँगले अनुषन्धान गर्न प्रहरीमाथि राजनीतिक र सामाजिक दवाव बढेको छ । कतिपयले प्रहरीले घटनाको गम्भीर अनुषन्धान गरी दोषीको पहिचान गर्न नसक्दा आत्महत्याको घटना भएको भन्दै दोलखा प्रहरीको आलोचना पनि गरेका छन् ।

एमाले दोलखाको हालै सम्पन्न जिल्ला अधिवेशनमा जिल्ला कमिटी सदस्यमा निर्वाचित न्यौपानेले सहकारी चोरीको घटनामा आफ्नो नाम जोडिएका कारण आत्महत्याको बाटो रोजे वा अन्य कारण पनि छन् ? खुल्न बाँकी छ ।

ग्रामीण क्षेत्रमा कार्यालय रहेको सूर्योदय सहकारीमा लाखौं रुपैयाँ भल्टमा राखिनु, चोरी हुने दिन व्यवस्थापकले भल्टको साँचो कार्यालयमा बिर्सिएको बताउनुले थुप्रै आशंकाहरु पैदा गरेको छ । सहकारीको भल्ट राखिएको कोठा र पूर्व कोषाध्यक्ष एवँ घरधनी न्यौपाने सुत्ने कोठासँगै जोडिएका कारण पनि प्रहरीले उनलाई बढी निगरानीमा राखेको थियो ।

दोलखा एमालेले लगायो प्रहरी प्रशासनलाई दोष

यसैबीच, नेकपा एमाले दोलखाले विज्ञप्ती जारी गरी सहकारी चोरीको घटनामा घरबेटी भएपावत प्रहरी प्रशासनले अनावश्यक दुख दिँदा आत्महत्याको घटना घटेको बताएको छ । एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठले आज विज्ञप्ती जारी गरी प्रहरीले दिएको दुख र हतोत्साहितका कारण आफ्नो पार्टीका जिल्ला कमिटी सदस्य कपिलमणी न्यौपानेले आत्महत्या गरेको आरोप लगाएका छन् । आत्महत्याको मूख्य दोषी स्थानीय प्रहरी प्रशासन भएको एमालेको आरोप छ । एमालेले हाम्रो सूर्याेदय सहकारीको चोरीको घटनालाई ‘कथित’ घटनाको संज्ञा दिँदै प्रहरीले सहकारीमा चोरी भए नभएको एकिन नगरी न्यौपानेलाई हतोत्साहि बनाएको र बास्तविक दोषी पत्ता लगाउन नसकेको बताएको छ ।

प्रतिक्रिया