पोखरा, ५ फागुन २०८० /
दाङको शान्तिनगर गाउँपालिका – १ स्थित बान्द्रेखोला जंगलमा गोली लागेर एक युवाको मृत्यु भएको छ। बबई गाउँपालिका – ४ ठाटीखोलाका २४ बर्षीय तेजलाल खत्रीको बान्द्रेखोला जंगलमा गोली लागेर मृत्यु भएको हो ।
अन्य साथीसंगी शिकार खेल्न उक्त जंगलमा गएका खत्रीलाई भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको अवस्थामा शनिबार राति १ बजेतिर भेटिएको इलाका प्रहरी प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए।
डिएसपी मल्लका अनुसार खत्रीको एउटा हात बारुदले जलेको जस्तो देखिएको छ भने छातिमा भरुवा बन्दुकको गोली लागेको छ। शव पोष्टमर्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको छ ।
शुक्रबार बेलुकी साढे ८ बजेतिर खत्रीको भरुवा बन्दुकको गोली लागेको भएपनि मध्यरातिमा मात्रै प्रहरीले त्यसबारे सूचना पाएको थियो । खत्रीसहित गाउँका ११-१२ जना साथीहरु मिलेर शिकार खेल्न जंगलतिर गएका थिए। खत्रीलाई आँफैले बोकेको भरुवा बन्दुक पड्किदा छातिमा गोली लागेर मृत्यु भएको हो वा उनकै साथीहरु मध्य वन्य जन्तुलाई हानेको गोली गल्तिबस लागेको हो भन्ने बारे यकिन भइ नसकेको प्रहरी अधिकारीहरुले बताएका छन् ।
खत्रीसंगै चोरी शिकारमा निस्किएका अन्य सबैको पहिचान भइसकेको भएपनि उनीहरु सबै फरार रहेको र उनीहरुलाई पक्राउ गर्ने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय दाङक डिएसपी मल्लले बताए ।