पोखरा, ५ फागुन २०८० /
रौतहटको इशनाथ नगरपालिकामा कर्फ्यु लगाइएको छ । इशनाथ नगरपालिका–६ र ७ मा सरस्वती मूर्ति बिसर्जनका क्रममा मोतीपुरमा दुई पक्षबीच विवाद र झडप भएको विषयमा शनिबार घिउरा भन्ने ठाउँमा पुनः झडप भएको भन्दै जिल्ला प्रशासन कार्यालय रौहतहटले कर्फ्यु लगाएको हो ।
शनिबार साँझ ५ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए । कर्फ्यु लगाइएको क्षेत्रमा आवतजावत गर्न, भेला हुन, हिँडडुल गर्न, जुलुस तथा ¥याली निकाल्न प्रतिबन्ध लगाइएको जारी कर्फ्यु आदेशमा जनाइएको छ ।
इशनाथ नगरपालिकाको सीमा क्षेत्र पूर्वमा जोकहा खोला, पश्चिममा सानो जोकहा गाउँ, उत्तरमा रामपुरखापस्थित एपीएफको बोर्डर आउटपोस्ट र दक्षिणमा जयनगर प्रहरी चौकी रहेको क्षेत्रमा कर्फ्यु लगाइएको हो ।

शुक्रबार दिउँसो दुई बजेदेखि मूर्ति सेलाउन जाने हिन्दु समुदायका मानिसहरू बाटोमै मूर्ति राखेर धर्नामा बसेका थिए । सिडिओ हिरालाल रेग्मीको रोहबरमा दुवै पक्षलाई राखेर मूर्ति सेलाउन दिने सहमति भएको थियो । सरस्वतीको मूर्ति सेलाउन एउटा बाटोबाट लैजान र डिजे बाजा अर्को बाटोबाट लैजान दिने सहमति विपरीत केही युवाहरूले ढुंगामुढा गरेपछि स्थिति तनावग्रस्त बनेको जिल्ला प्रहरी कार्यालय रौताहत्की प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन्।
आज अवस्था तनावग्रस्त बनेपछि मधेस प्रदेश प्रहरी प्रमुख डिआईजी यज्ञबिनोद पोख्रेल र सशस्त्र प्रहरीको मधेस प्रदेश प्रमुख डिआईजी दीपेन्द्र श्रेष्ठसमेत घटनास्थल पुगेका छन्। आज भएको झडपमा दुवै पक्षका मानिसहरू घाइते भएको तर सङ्ख्या भने यकिन हुन नसकेको प्रहरीले जनाएको छ।