कृषि तथा पशुविज्ञान लमजुङ क्याम्पस अनिश्चितकालका लागि बन्द

कृषि तथा पशुविज्ञान लमजुङ क्याम्पस अनिश्चितकालका लागि बन्द


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ४ फाल्गुन २०८०
  • 5.9K
    Shares

पोखरा, ४ फागुन २०८० /

लमजुङको सुन्दरबजारमा रहेको कृषि तथा पशुविज्ञान अध्ययन संस्थान, लमजुङ क्याम्पस अनिश्चितकालका लागि बन्द गरिएको छ।

गत शनिबार क्याम्पसमा अध्ययनरत नेपाल विद्यार्थी संघ र अनेरास्ववियुसम्बद्ध विद्यार्थीबीच झडप हुँदा क्याम्पसका निमित्त प्रमुख अमित खनालसहित १५ जना विद्यार्थी घाइते भएका थिए। क्याम्पसमा अध्ययनरत विद्यार्थीबीच झडप भएपछि उत्पन्न परिस्थितिले तत्काल पठनपाठन गराउन नसकिने भन्दै क्याम्पस प्रशासनले एक सूचना जारी गरी क्याम्पसको शैक्षिक गतिविधि अर्काे सूचना नभएसम्मका लागि लागि बन्द गरिएको जनाएको हो।

क्याम्पसमा आफ्नो संगठनको वर्चस्व कायम राख्ने होडबाजीबीच नयाँ भर्ना हुन आएका विद्यार्थीलाई आफ्नो संगठनमा तान्ने क्रममा शनिबार नेपाली कांग्रेसनिकटको नेविसंघ र नेकपा एमालेनिकटको अनेरास्ववियुका विद्यार्थीबीच कुटाकुट हुँदा छैटौँ र सातौँ सेमेस्टरमा अध्ययनरत १५ जना विद्यार्थी घाइते भएका थिए।

लमजुङ क्याम्पसका निमित्त क्याम्पस प्रमुख अमित खनालका अनुसार झडपपछि शनिबारदेखि नै क्याम्पसको छात्रवास खाली गराइएकोमा तत्काल पठनपाठन सुरु गर्दा पुनः झडप हुन सक्ने देखिएकाले सूचना जारी गरी अर्काे सूचना जारी नहुन्जेल क्याम्पसको प्रशासन मात्र खुल्ने गरी क्याम्पसका सबै शैक्षिक गतिविधि बन्द गरिएको हो।

अहिले क्याम्पसमा परीक्षा फर्म भर्ने समय रहेको र छैटौँ सेमेस्टरको ब्याकपेपरको परीक्षासमेत आउन लागेकाले क्याम्पस प्रशासन भने खुला राखेर आन्तरिक छलफललाई निरन्तरता दिइएको खनालले बताए। राजनीतिक दल, विद्यार्थी संगठन, सुरक्षा निकाय, क्याम्पस प्रशासन र सरोकारवालाबीच छलफल भएपछि क्याम्पसको पठनपाठन सञ्चालन गरिने उनले बताए। झडपपछि लमजुङ क्याम्पसमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

अहिले क्याम्पसको अवस्था सामान्य रहे पनि विद्यार्थीबीच पुनः झडप हुन सक्ने सम्भावनालाई ख्याल राख्दै सुरक्षा व्यवस्था कडा पारिएको क्याम्पस प्रशासनले जनाएको छ। नेपाल विद्यार्थी संघका क्याम्पस इकाइ सभापति असिम वस्तीले नेविसंघको विद्यार्थी अनेरास्ववियुले राखेको भन्दै होस्टेलमा बुझ्न त्यहाँ पुगेको दाबी गरेका छन्।उनले भने, ‘नेविसंघका दुईजना साथीहरू लुकाएर राखेको सुनेपछि कुरा गरौँ न भनेर हामी त्यहाँ गएका थियौँ। त्यसपछि त्यहाँ विवाद भयो। अनि दोहोरो झडप भएको हो।’ अनेरास्ववियु लमजुङका अध्यक्ष सागर सुनियोजित रूपमै नेविसंघका व्यक्तिले आक्रमण गरेको बताउँछन्। अनेरास्ववियुले भने क्याम्पसको होस्टेलमा प्रवेश गरी नेविसंघको अराजक जत्थाले त्यहाँ बसिरहेका विद्यार्थीमाथि हमला गरेको दाबी गर्दै आएको छ।

नेविसंघले विद्यार्थीलाई छतबाट खसालको समेत अनेरास्ववियुले आरोप लगाएको छ। तर, नेविसंघले भने दोहोरो झडपमा आफैँ हाम फालेको दाबी गर्दै आएको छ। अनेरास्ववियु केन्द्रीय समितिले समेत विज्ञप्ति जारी गर्दै लमजुङ क्याम्पसको घटनामा खेद प्रकट गरेको छ। होस्टेलमा पढिरहेका विद्यार्थीमाथि नेविसंघकाे जत्था प्रवेश गरी कोठा थुनेर गरेको आक्रमण मानवविरोधी गम्भीर अपराध भएको अनेरास्ववियुको ठहर छ।

प्रतिक्रिया