बालकुमारी गोली काण्ड : घटनाको मुख्य जिम्मेवार मन्त्री ज्वाला भएको निष्कर्ष

बालकुमारी गोली काण्ड : घटनाको मुख्य जिम्मेवार मन्त्री ज्वाला भएको निष्कर्ष


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ४ फाल्गुन २०८०
  • 5K
    Shares

बालकुमारी गोली काण्ड जाँचबुझ आयोगले गृहमन्त्रीलाई बुझायो बालकुमारी घटनाको प्रतिवेदन

पोखरा, ४ फागुन २०८० /

ललितपुरको बालकुमारीमा दुई जनाको मृत्यु हुनेगरी भएको गोली प्रहार काण्डमा मुख्य जिम्मेवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला भएको निष्कर्ष निकालिएको छ ।

पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल नेतृत्वको जाँचबुझ आयोगले घटनाको मुख्य जिम्मेवार मन्त्री ज्वाला भएको ठहर गरेको हो । ज्वालापछि सो क्षेत्रको अपरेशन कमाण्डरको भूमिकामा रहेका डीएसपी उमेश लम्साल र ज्वालाकै पीएसओ जिम्मेवार रहेको जाँचबुझ आयोगले औँल्याएको छ ।

शुक्रबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाइएको प्रतिवेदनमा मन्त्री ज्वालाकै कारणले यति ठुलो घटना भएको देखिएको जाँचबुझ आयोगका एक अधिकारीले बताए।

ईपीएसमार्फत कोरिया जान आवेदन दिन पाउनुपर्ने माग राख्दै भएको प्रदर्शनका क्रममा प्रहरी हस्तक्षेप हुँदा गत पुस १३ गते दुई युवाको मृत्यु भएको थियो । प्रदर्शनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो भने घटनामा कमजोरी भएको निष्कर्षका साथ सरकारले ललितपुरका तत्कालीन प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाह र प्रजिअ रुद्रप्रसाद पण्डितलाई जिम्मेवारीबाट हटाएको थियो । त्यस्तै, प्रदर्शनस्थलमा खटिएका स्पट कमान्डर डीएसपी उमेश लम्साललाई पनि निलम्बन गर्ने बैठकले निर्णय गृह मन्त्रालयले गरेको थियो ।

प्रदर्शनमा मन्त्री प्रकाश ज्वालाको सवारीमाथि आगजनी भएको थियो । त्यसमा ज्वाला र उनका पीएसओको लापरबाही देखिएको बताइएको छ । प्रदर्शन भएकै स्थलबाट ज्वालाको गाडी लापरबाही ढंगले लगिएको र सो क्रममा गाडीबाट झरेर ज्वालाले विवाद समेत गरेको बताइएको छ ।

सो घटनापछि सरकारले ईपीएस कोरिया शाखाका प्रमुखलाई पनि सरुवा गर्ने निर्णय गरेको थियो । यस्तै यता सरकारले मृतकका परिवारलाई तत्काल राहत स्वरूप १०–१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको थियो भने चौतर्फी आलोचना भएपछि सरकारले पुस १६ गते जाँचबुझ आयोग बनाएको थियो ।

मन्त्रीपरिषद्को निर्णयअनुसार आयोगमा पूर्व एआइजी अरुण बिसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई सदस्य रहेका थिए । आयोगलाई प्रतिवेदन बुझाउन एक महिनाको समय दिइएको भएपनि म्याद थप गरेर शुक्रबार मात्रै बुझाइएको हो । घटनाको छानबिनका क्रममा आयोगले मन्त्री ज्वालासहित सम्बन्धित सबैसँग बयान लिएर प्रतिवेदन तयार गरेको हो ।

मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगलाई घटनामा भएको मानवीय, भौतिकलगायत क्षतिको विवरणको अध्ययन र विश्लेषण गर्ने, उक्त घटनाका कारण र सो स्थानमा गरिएको सुरक्षा प्रबन्ध तथा सुरक्षा योजनाको अध्ययन गरी त्यसमा भएका कमीकमजोरी पत्ता लगाउने, उक्त घटनासँग सम्बन्धित व्यक्ति, पदाधिकारी एवं निकायको भूमिका सम्बन्धमा अध्ययन गरी दोषी देखिएकालाई कारबाहीको सिफारिस गर्ने र आगामी दिनमा त्यस प्रकारका घटना हुन नदिन अपनाउनुपर्ने उपाय समेटिएको प्रतिवेदन तयार पारी पेस गर्ने जिम्मेवारी दिएको थियो ।

प्रतिक्रिया