पोखराका सुनचांदी ब्यबसायी र जग्गा कारोबारीलाई ठगी गर्नेसहित चार जना पक्राउ

पोखराका सुनचांदी ब्यबसायी र जग्गा कारोबारीलाई ठगी गर्नेसहित चार जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २ फाल्गुन २०८०
  • 150.9K
    Shares

पोखरा, २ फाक्गुन २०८० /

पोखराका एक सुनचांदी व्यवसायीलाई विश्वासघात गरेर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। सुनका गरगहनामा विदेशमा निर्यात गर्ने बताएर पोखराका सुन व्यवसायीलाई विश्वासमा पारेर दुई करोड रुपैयाँ ठगी गरेको आरोपमा काभ्रेको भुम्लु गाउँपालिका-३ का कुमार थापालाई प्रहरीले पक्राउ गरेको हो।

अभियुक्त थापाले सुन खरिद बापत दिएको चेक नसाटिएपछि प्रहरीले उनको खोजी गरिरहेको अवस्थामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई भक्तपुरबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार तीनपटक पैसा तिरेपछि चौथोपटकमा थापाले व्यवसायीलाई झुक्याएका थिए । उनले सुन खरिदबापत पहिलोपटक १० लाख, दोस्रोपटक २० लाख र तेस्रोपटक ५० लाख रुपैयाँ तिरेपछि चौथोपटक करिब दुई करोडको सुन लिएर पैसा नभएको चेक दिई फरार भएका थिए ।

यसैगरी उनीसंगै सुनका गहना, गाडी र जग्गा कारोबार गर्ने भनी मानिसहरुलाई विश्वासमा पार्दै ठगी गरेर भागेका अन्य तीन जनालाई पनि प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अभियुक्त थापासंगे स्याङ्जाको पुतलीबजार नगरपालिका-४ की मीना दमै, सिन्धुलीको गोलन्जोर गाउँपालिका-५ का रविन कुमार थापा र सप्तरीको सप्तकोशी नगरपालिका-६ का दिलिप कुमार लाभलाई पक्राउ गरेको हो ।

उनीहरूले समूह बनाई सुनका गरगहना, गाडी र जग्गाको कारोबार देखाई विश्वासमा पार्ने र ठगी गरेको पाइएको प्रहरीले बताएको छ ।

काभ्रेका कुमार थापाले सुनका गरगहना विदेशमा निर्यात गर्दैछौं भनेर पोखराका एक सुनचाँदी व्यवसायीसँग पहिलो पटक १० लाख, दोस्रो पटक २० लाख र तेस्रो पटक ३० लाखको गहना खरिद गरेका थिए । यसरी ठूलो मात्रामा सुन खरिद गरेर विश्वासमा पारेपछि १ करोड ८० लाख रुपैयाँको गहना बाहिर निर्यात गर्ने भनी लिएर फरार भएका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

त्यस्तै दिलिपकुमार लाभले भक्तपुरको सुडालमा अरुको नाममा रहेको १२ आना जग्गा दिलाइदिने भनी परिवार अटो मोवाइलका सञ्चालकसँग ३ वटा गाडी र २६ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको पाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । यसरी परिवार अटोमोवाइल प्रालिबाट लिएको गाडी ५४ लाख ५० हजार मूल्य तय गरी लिएकामा रकम नतिरी बेपत्ता भएका थिए ।

यो समूहले चितवनमा पनि अरु व्यवसायीहरुको जग्गा बैना गरी १ करोड ३६ लाख ठगी गरेको पाइएको थियो । मीना दमैविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा ७ वटा ठगी मुद्दा र चितवनमा २ वटा ठगी मुद्दा दर्ता भएको छ ।

कुमार थापाविरुद्ध भने कास्कीमा २ करोड बैंकिङ कसुरको मुद्दा दर्ता भएको पाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । कुमार थापाले धेरै कारोबार मीना दमैको नामबाट गर्ने गरेको पाइएको छ । उनले महिलाको नाममा कारोबार गर्दा विश्वासमा पार्न सजिलो हुने भएकाले त्यो उपाय लगाएको देखिएको प्रहरी उपरीक्षक रेग्मीले बताए ।

रविनकुमार थापाविरुद्ध चितवनमा ४ वटा र काठमाडौंमा ३ वटा मुद्दा दर्ता भएको पाइएको छ । उनीहरुबाट करिब ७ करोड रुपैयाँ ठगी भएको पाइएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया