पोखरा, १ फाक्गुन २०८० /
पाल्पामा मंगलबार साँझ भएको मुस्ताङ जिप दुर्घटनामा परेर मृत्यु भएका १० जनाकै सनाखत भएको छ भने घाइते १६ जनाको पहिचान पनि खुलेको छ।
तानसेन नगरपालिकाको डुम्रेबाट तिनाउ गाउँपालिकाको चिदिसतर्फ जाँदै गरेको लु१ज २३७१ नम्बरको जीप मंगलबार साँझ पौने ५ बजेतिर दुर्घटनाग्रस्त हुँदा १० जना यात्रुको मृत्यु भएको थियो ।
उक्त दुर्घटनामा परेर बुटवल उपमहानगरपालिका वडा नम्बर १४ बस्ने ७० वर्षीय चन्द्र बहादुर रणपाल र उनकी ६० वर्षीया श्रीमती चुना रणपाल, पाल्पाको तिनाउ- ६ की यमकुमारी पन्त, ३९ वर्षीय रामबहादुर अस्लामी, कृष्ण बहादुर अस्लामी र २८ वर्षीय उर्मिला अस्लामिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए । त्यस्तै सोही दुर्घटनामा परेर पाल्पा रिब्दिकोट १ ख्या बस्ने ६६ वर्षीया बिश्नुकला कामी, सोही ठाउँकी ६५ वर्षीया दिल कुमारी सुनार, रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ५ बस्ने २९ वर्षीया दिलमाया जिसी र पाल्पाको तिनाउ २ खुर्साने बस्ने २० वर्षीया गीता सुनारको पनि मृत्यु भएको डिएसपी श्रेष्ठले बताए।
उक्त दुर्घटनामा परेर घाइते भएका १६ जनाको हाल लुम्बिनी मेडिकल कलेज भैरहवामा उपचार भैरहेको प्रहरीले बताएको छ।
लुम्बिनी मेडिकल कलेज पाल्पाले दिएको जानकारीलाई उद्धृत गर्दै प्रहरीबाट प्राप्त जानकारी अनुसार, उक्त दुर्घटनामा पाल्पा तिनाउ ६ कि १९ वर्षीया उमा रास्कोटी, २१ वर्षीया अमृता गहतराज, १९ वर्षीया शान्ती राना, ९ वर्षीय सौरभ पुन, ४५ वर्षीय कूलबहादुर नेपाली, रुपन्देही खैरेनीका ९ वर्षीय विवेक जिसी, सोही ठाउँकै ७ वर्षीय अस्मित जिसी, तानसेन ७ कि ४२ वर्षीया सविता परियार, रिव्दिकोट १ की ३० वर्षीया रमा सुनार, सोही ठाउँकै ६ वर्षीया विधा सुनार, ६ वर्षीया साया सुनार, ५ वर्षीय आरभ सुनार, तानसेन १० का ४५ वर्षीय दानबहादुर चिदी, रुपन्देही हरैयाकी ३० वर्षीया भूमि पुन, १९ वर्षको उमा रास्कोटीको उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ।

जीप सडकबाट अन्दाजी तीन सय मिटर तल खसेको प्रहरीले बताएको छ। दुर्घटनाको कारण खुलेको छैन । घटनाबारे थप विवरण आउन बाँकी नै छ।