पोखरा, १ फाक्गुन २०८० /
पाल्पामा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।तानसेन नगरपालिकाको डुम्रेबाट तिनाउ गाउँपालिकाको चिदिसतर्फ जाँदै गरेको लु१ज २३७१ नम्बरको जीप दिउसो पौने ५ बजेतिर दुर्घटना हुँदा १० जनाको मृत्यु भएको हो।
उक्त दुर्घटनामा परेर मृत्यु भएका १० जना मध्ये ६ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए । दुर्घटनामा परेर बुटवल उपमहानगरपालिका वडा नम्बर १४ बस्ने ७० वर्षीय चन्द्र बहादुर रणपाल र उनकी ६० वर्षीया श्रीमती चुना रणपाल, पाल्पाको तिनाउ- ६ की यमकुमारी पन्त, ३९ वर्षीय रामबहादुर अस्लामी, कृष्ण बहादुर अस्लामी र २८ वर्षीय उर्मिला अस्लामिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ।
दुर्घटनामा परेर घाइते भएका १७ जनाको अहिले लुम्बिनी मेडिकल कलेज भैरहवामा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ।
लुम्बिनी मेडिकल कलेज पाल्पाले दिएको जानकारी अनुसार घाइते हुनेहरूमा पाल्पा तिनाउ ६ कि १९ वर्षीया उमा रास्कोटी, २१ वर्षीया अमृता गहतराज, १९ वर्षीया शान्ती राना, ९ वर्षीय सौरभ पुन, ४५ वर्षीय कूलबहादुर नेपाली, रुपन्देही खैरेनीका ९ वर्षीय विवेक जिसी, सोही ठाउँकै ७ वर्षीय अस्मित जिसी, तानसेन ७ कि ४२ वर्षीया सविता परियार, रिव्दिकोट १ की ३० वर्षीया रमा सुनार, सोही ठाउँकै ६ वर्षीया विधा सुनार, ६ वर्षीया साया सुनार, ५ वर्षीय आरभ सुनार, ६६ वर्षीया विष्णुकला कामी, तानसेन १० का ४५ वर्षीय दानबहादुर चिदी, रुपन्देही हरैयाकी ३० वर्षीया भूमि पुन, १९ वर्षको उमा रास्कोटी र अन्य १ जना पुरुष, १ जना महिला र १ जना बालिका रहेका छन् ।
जीप सडकबाट अन्दाजी तीन सय मिटर तल खसेको प्रहरीले बताएको छ। दुर्घटनाको कारण खुलेको छैन । घटनाबारे थप विवरण आउन बाँकी नै छ।

