पोखरा, २९ माघ २०८० /
मित्रमिलन सहकारी ठगी प्रकरण ठानिएका सो सहकारीका पूर्वअध्यक्ष कृष्णबहादुर राउत १२ लाख रुपियाँ धरौटी राखेर रिहा भएका छन्। न्यायाधीश बसन्तजंग थापाको ईजलासले पूर्वअध्यक्ष राउतलाई धरौटीमा छाड्न आदेश दिए पछि अदालतको सोही आदेश बमोजिम राउतले आइतबार १२ लाख रुपियाँ धरौटी राखेर रिहा भएका हुन्। पक्राउ पुर्जी जारी भएका राउत आफैं अदालतमा उपस्थित भएका थिए।
पोखरा महानगरपालिका वडा नं. १२ बस्दैं आएका राउतले नेचर केयर होम प्रा. लि., आयुर्वेद अस्पताल र कुशुमकृष्ण आयूर्वेद फर्मा लगायतका विभिन्न संस्थाहरु सञ्चालन गर्दै आईरहेका छन् ।
सहकारीका तीन हजार चार सय ४६ वचतकर्ताको २६ करोड ८६ लाख ६४ हजार ६ सय ४६ रुपैयाँ ठगिएकोमा सरकारी वकिलको कार्यालयले कानुन बमोजिम सजाय र २१ करोड बिगो माग दावी गरेर मुद्दा दायर गरेको छ । सहकारी ठगीमा ३३ जना विरुद्ध पक्राउ पुर्जी जारी भएपनि हालसम्म नौ जना मात्र पक्राउ परेका छन् । पक्राउ परेका मध्ये लेखा समितिका संयोजक सूर्यबहादुर अधिकारी र उपप्राध्यापक भण्डारी धरौंटीमा रिहा भईसकेका छन् ।
सञ्चालक समितिका अध्यक्ष रमण पौडेल, पूर्व रजिष्ट्रार उदयबहादुर पराजुली, सहकारी सञ्चालक सदस्य गोपाल खनाल, कार्यकारी अधिकृत किरण अधिकारी, सल्लाहकाररशेयर सदस्य राजु बराल र शेयर सदस्य बुद्धिसागर पौडेल जिल्ला अदालत कास्कीको आदेशले पुर्पक्षका लागि कास्की कारागारमा थुनामा रहेका छन् । बाँकी हालसम्म पनि फरार नै छन् ।
यस्तो थियो पूर्वअध्यक्ष कृष्णबहादुर राउतलाई लागेको आरोप:
कृष्णबहादुर राउत २०७३ पुस २६ गतेको दोस्रो वार्षिक साधारणसभाबाट अध्यक्षमा निर्वाचित भई जिम्मेवारी वहन गर्ने बेलादेखि नै मित्र मिलन सहकारीमा अनावश्यक खर्च हुने क्रम सुरु भएको अनुसन्धानका क्रममा देखिन्छ । राउत अध्यक्ष हुँदा नै पोखरा–१२, चापापानीमा उनकी श्रीमती विद्या डाँगी राउतको नाउँमा प्रेमबहादुर कार्कीको २ तले घर करिब १ करोड २० लाखमा खरिद गर्दा अपुग भएको रकम मनबहादुर दमैंका नाममा कृतिम खाता (फेक लोन) तयार गरेर ऋण प्रवाह गरेका थिए ।
राउतले त्यतिबेला सहकारीबाट २०७५ कार्तिक १५ गते ११ लाख २० हजार रुपैयाँ आफैंले सञ्चालन गर्दै आईरहेको कुसुम कृष्ण आयुर्वेद फर्माको नाउँमा लिएका थिए । सोही समयमा विभिन्न मितिमा १५ लाख २२ हजार पाँचसय गरी २६ लाख ४२ हजार पाँचसय लिएको देखिएकोमा तत्कालिन अध्यक्ष राउतले विभिन्न कृतिम कर्जाहरु खडा गरी आफ्नो खातामा रकम रकमान्तर गरी किर्ते काम गरेका थिए ।
राउतले आफू अध्यक्ष हुँदा नै पहुँचको भरमा मनबहादुर दमैको नाउँमा फेक लोन (कृतिम ऋण) सहकारीको सफ्टवेयरबाट भुक्तानी दिएको भनी क्लियर गरेर छाडेका तथ्य बयानका क्रममा वर्तमान समितिका अध्यक्ष रमण पौडेलले दिएको सूचना र अनुसन्धानबाट पुष्टि हुन जाँदा राउतलाई सहकारी ऐन २०७४ को दफा १२२ को उपदफा (ख), (च) र (त)ले परिभाषित कसुर भए गरेको हुँदा ऐनको दफा १२४ को उपदफा (१) को खण्ड (ग) र (घ२) बमोजिम अधिकतम सजायको माग दावी गर्दै जिल्ला अदालत कास्कीमा सरकारी वकिलको कार्यालय कास्कीले मुद्दा दायर गरेको थियो । पूर्वअध्यक्ष राउतसहित ३३ जना विरुद्ध सहकारी ठगीको मुद्दा यतिबेला जिल्ला अदालत कास्कीमा चलिरहेको छ ।