पोखरा, २८ माघ २०८० /
पर्यटकीय नगरी पोखराको लेकसाइड क्षेत्रका क्याफे तथा लन्च बारहरुमा शृंखलाबद्ध रुपमा चोरी गर्ने कार्यमा संलग्न एक जना सुर्य चुरोटका पारखीलाई प्रहरीले पक्राउ गरेको छ।
पोखरा महानगरपालिकाको वडा नम्बर ६ लेकसाइडका पांच वटा र पोखरा ५ जिरो किमिस्थित एउटा क्याफे तथा लन्च बारहरुमा शृंखलाबद्ध रुपमा चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले पोखरा १४ बस्ने २१ वर्षीय दिपेश परियारलाई वडा प्रहरी कार्यालय बैदामा पोखराले पक्राउ गरेको हो।
अभियुक्त परियारले गएको माघ १ गते बिहान सवा पांच बजे लेकसाइडस्थित ओरिजिन क्याफे, माघ १३ गते रेस्ट्रो लंज एंड बार, माघ १६ गते बिहान ४ बजेको समयमा एलिज क्याफे, माघ १६ गते बिहान करीब पौने चार बजे सोप्निल दरबार खाजाघर र माघ १६ गते बिहान चार बजे टोनिक लंज एण्ड बार तथा माघ १३ गते बिहान चार बजेको समयमा पोखरा ५ जिरो किमिस्थित कपी बक्स क्याफे चोरी गरेको प्रहरीले दाबी गरेको छ।
अभियुक्त परियारलाई पोखरा १४ स्थित आफ्नै घरकोठाबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। निजले वयानको क्रममा घटनामा आफ्नो संलग्नता स्वीकार गरेको पनि प्रहरीको दाबी छ । प्रहरीले अभियुक्त परियारको साथबाट चोरीको ट्यावलेट दुई थान वरामद भएको जानकारी दिएको छ । चोरी भएका अन्य धनमालको विषयमा अनुसन्धान कार्य जारी रहेको जानकारी दिएको प्रहरीले अभियुक्त परियारबिरुद्ध जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्वन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भईरहेको बताएको छ ।
दिपेश परियारले चोरी गरेको ठाँउको बिबरणः-
– मिती २०८०/१०/१३ गते बिहानको अ.०२.०० बजेको समयमा जिल्ला कास्की पोखरा म.न.पा.वडा न.५ जिरो कि.मी.स्थितमा रहेको पोखरा-४ बस्ने जाहेरवाला प्रतिक गुरुङले संचालन गरेको कपी बक्स क्याफेबाट नगद रु.१५,०००/-,४ बन्डल सुर्य चुरोट रु.१२,१००/-,रु.२०,०००/- पर्ने सामसुङ कम्पनिको ट्याबलेट थान-१,रु.४२,०००/- पर्ने १२ थान जिप्पो लाईटर, समेत जम्मा रु.८९,१००/- बराबरको धनमाल चोरी गरेको ।
– मिति २०८०/१०/०१ गते बिहानको अ.०५.१५ बजेको समयमा जिल्ला कास्की पोखरा म.न.पा.वडा न. ६ लेकसाईड स्थितमा रहेको सुरेश भण्डारीले संचालन गरेको सोल ओरिजिन क्याफेबाट नगद रु.१०,०००/-,वाईन,सुर्य चुरोट,लेनोभो कम्पनीको ट्याब थान-२,समेत जम्मा रु.८७,५२५/-बराबरको धनमाल चोरी गरेको
– मिति २०८०/१०/१३ गते रातको समयमा जिल्ला कास्की पोखरा म.न.पा.वडा न.६ सेन्टर प्वाईन्ट स्थितमा रहेको सुरज कुँवरले संचालन गरेको रेष्ट्रो लंज बार भित्रबाट नगद रु.३५,०००/-,सुर्य चुरोट मसेत जम्मा रु.३५,९६०/- बराबरको धनमाल चोरी गरेको ।
– मिति २०८०/१०/१६ गते बिहानको अ.०४.०० बजेको समयमा जिल्ला कास्की पोखरा म.न.पा.वडा न.६ लेकसाईड स्थितमा रहेको बिनोद मल्लले संचालन गरेको एलिज क्याफेबाट नगद रु.२,०००/-रु.१०,०००/-पर्ने गितार थान-१,सुर्य चुरोट समेत जम्मा रु.१२,६६०/-बराबरको धनमाल चोरी गरेको ।
– मिति २०८०/१०/१६ गते बिहनाको अ.०३.५० बजेको समयमा जिल्ला कास्की पोखरा म.न.पा.वडा न. ६ लेकसाईड फुटट्याकमा रहेको केशब नेपालीले संचालन गरेको सोप्निल दरबार खाजाघरको भित्रबाट नगद रु.२,०००/-रु.६९९०/-पर्ने रेड लेबन,रु.८८००/-पर्ने ब्यालेक लेबन रक्सी थान-१,रु.२४४०/- पर्ने सिक्नेचर रक्सी थान-१,रु.४५४०/- पर्ने ओल्ड दरबार रक्सी, सुर्य चुरोट समेत जम्मा रु.२७,२८०/- बराबरको धनमाल चोरी गरेको ।
– मिति २०८०/१०/१६ गते बिहानको अ.०४.३० बजेको समयमा जिल्ला कास्की पोखरा म.न.पा.वडा न.६ लेकसाईड स्थितमा बुद्ध गुरुङले संचालन गरेको टोनिक लंज एण्ड बारबाट नगद रु.१३,०००/-खुकुरी रम,सुर्य चुरोट समेत जम्मा रु.१९,१६०/-बराबरको धनमाल चोरी गरेको ।