पोखरा, २७ माघ २०८० /
सत्तारुढ नेकपा माओवादी केन्द्रमा कम्तीमा पनि २० प्रतिशत केन्द्रीय सदस्यहरु अल्छी प्रवृत्तिका रहेको देखिएको छ। पार्टीे स्थार्यी कमिटीको बैठकमा गएको भदौ १६ देखि पुस १६ गतेसम्म सम्पन्न चार महिने विशेष रुपान्तरण अभियानको रिपोर्टिङका क्रममा कम्तीमा पनि २० प्रतिशत केन्द्रीय सदस्यहरु रहेको रहेको तथ्य देखिएको हो।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको स्थायी समिति बैठकमा प्रदेश इन्चार्जहरुले गरेको रिपोर्टिङ सुने पछि अध्यक्ष प्रचण्डले पार्टीमा तीन खालको प्रवृत्ति देखा परेको बताएको समाचारस्रोतले जानकारी दिएको छ।
पहिलो खालको प्रवृत्तिमा इमानदार भएर पार्टीको नीति र विधिमा बसेर काम गर्ने खालको पाइएको छ । इमानदार भएर काम गर्ने नेता ६० देखि ८० प्रतिशतको हाराहारीमा रहेको सम्बन्धित प्रदेशका सचिवालयले जनाएको छ । दोस्रोमा अलिअलि काम गर्ने र तेस्रोमा कामै नगर्ने खालको पाइएको छ । बैठकमा काम नगर्ने नेताहरू यकिन गरी केन्द्रीय समिति बैठकमा पेश गर्न इन्चार्जहरूलाई निर्देशन दिएको बुझिएको छ ।
कुन प्रदेशमा कति जना फिल्डमा गएनन् भन्ने स्पष्ट तथ्याङ्क प्राप्त हुन सकेको छैन । तर कुन प्रदेशमा कति प्रतिशत नेता फिल्डमा गएका छन् भन्ने तथ्याङ्क प्राप्त भएको छ । फिल्डमा जाँदै नजाने केन्द्रीय सदस्यहरू सुदूरपश्चिमा बढी छन् । बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा केही कमी देखिएको छ ।
कोशीमा चार प्रकारले नेताहरूको कार्य विभाजन गरिएको पाइएको छ । इमानदार अर्थात् क वर्गमा केन्द्रीय सदस्य ३३ प्रतिशत रहेको सचिवालयले जनाएको छ । ख वर्ग अर्थात ठिकठिकै काम गर्ने नेताहरू ३० प्रतिशत, अलिअलि काम गर्ने २५ प्रतिशत र कामै नगर्ने नेताहरू १२ प्रतिशत जति रहेको बुझिएको छ ।
कर्णालीमा ६८ प्रतिशत इमानदारपूर्वक खटिएको पाइएको छ । २२ प्रतिशत मध्यम र १० प्रतिशतले कामै नगरेको सचिवालयले जनाएको छ ।
लुम्बिनी कामै नगर्ने नेताहरू ५ प्रतिशत, इमानदारपूर्वक काम गर्ने ८० प्रतिशत र मध्यम खालका १५ प्रतिशत रहेको सचिवालयले जनाएको छ । गण्डकीमा बिरामीका कारण केही नेता फिल्डमा नगए पनि समग्रमा राम्रो रहेको प्रदेशकी अध्यक्ष गायत्री गुरुङको दाबी छ ।
बागमती प्रदेशको तथ्याङ्क प्राप्त भएको छैन । यद्यपि ९० प्रतिशतको हाराहारीमा फिल्डमा खटिएको सचिवालयले जनाएको छ । मधेशमा प्रदेश समिति नभएकाले स्पष्ट तथ्याङ्क प्राप्त भएको छैन । सुदूरपश्चिम प्रदेशमा ६० प्रतिशत केन्द्रीय नेताहरू फिल्डमा नगएको पाइएको छ । ४० प्रतिशतले इमानदारपूर्वक काम गरेको सचिवालयले जनाएको छ ।
जनतासँग माओवादी विशेष रुपान्तरण अभियानमा काम नगर्ने नेताहरूसँग स्पष्टीकरण सोध्ने र आवश्यक परेको खण्डमा कारबाही गर्ने विषय राख्दै जाऔँ, केही न केही गर्नुपर्छ भनेर प्रचण्डले भनेको स्रोतले बतायो । पार्टीको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यसम्पादन मूल्याङ्कनको आधारमा केही न केही कारबाही प्रक्रिया अगाडि बढाउने बताएको एक नेताले जानकारी दिए ।
माओवादी केन्द्रले भदौ १६ देखि पुस १६ सम्म चार महिने विशेष रुपान्तरण अभियान चलाएको थियो । अभियानको क्रममा केन्द्रीय सदस्यहरूले अन्तरजिल्लाको वडामा केन्द्रित रहेर काम गरेका थिए । सम्बन्धित प्रदेशका इन्चार्जले स्थायी समिति बैठकमा अभियानको समीक्षात्मक रिपोर्टिङ गरेका थिए ।
अभियानमा केन्द्रीय समितिको कार्यसम्पादन मूल्याङ्कन सम्बन्धित प्रदेशका इन्चार्जले बुझाउने निर्णय पार्टीले गरेको थियो । यस सम्बन्धमा विस्तृत रिपोर्ट लिन खटाएको र शनिबार बेलुकासम्म आइपुग्ने सचिव चक्रपाणि खनालले जानकारी दिए ।