पोखरा, २५ माघ २०८० /
पोखरा महानगरपालिका वडा नम्बर १६ लामाचौरका सच्चाई सेवा केन्द्र संचालक तथा सच्चाई केन्द्र नेपालका अध्यक्ष प्रकाशदीप गैरेसंग उनीहरुले फोन गरेर हिन्दी भाषामा अनि एसएमएस गरेर शुरुमा ६ करोड रुपियाँ मागे। नदिए ज्यान मार्नेसम्मको धम्कि पनि दिए। बारम्बार धम्कि दिंदै पनि गए। वार्गेनिङ्ग हुँदै गयो। उनीहरु छ करोड रुपियाँबाट झर्दै तीन करोड रुपियाँ दिए आफूहरु मान्ने पक्षमा रहेको संकेत दिए।
फोनबाट धम्क्याए पनि त्यस धम्कीको असर गैरेलाई कतिको परेको छ भनेर बुझ्न उनीहरु दुई दिनसम्म लामाचौरस्थित सच्चाई सेवा केन्द्रमा पनि पुगेका थिए। सोही क्रममा प्रहरीले उनीहरुलाई कर्याप्झ्याप पारेर पक्राउ गरि हाल्यो। पक्राउ परे पछि मात्र प्रहरीले थाहा पायो कि सच्चाई केन्द्र नेपालका अध्यक्ष प्रकाशदीप गैरेलाई धम्क्याउने युवा पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटका लक्ष्मण दर्जी र कुश्मा–१४ का दीपकबहादुर क्षेत्री हुन् भनेर।
गैरेका बारेमा बुझ्न माघ १३ गते सच्चाई केन्द्र गएर करिब २ घण्टा बसेका थिए। त्यही बेला उनीहरूले गैरेको फोन नम्बर पत्ता लगाएका थिए।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार दर्जी र क्षेत्रीले माघ १८ गते पहिलो पटक फोन र म्यासेजमार्फत धम्की दिएर ५ करोड माग गरेका थिए।
फेरि उनीहरू २० गते सच्चाई केन्द्र गएर आफूहरूले दिएको धम्कीको असरबारे बुझेको डिएसपी विकले बताए।
‘धम्की दिँदै सच्चाई केन्द्र गएको देखिन्छ, धम्की दिएर माघ २३ गते पनि सच्चाई केन्द्र गएर आधा घण्टामा निस्किएका रहेछन्,’ उनले भने, ‘ज्यान मार्ने धम्की दिएर ५ करोड फिरौती मागेको विषयमा अनुसन्धान हुँदै गर्दा बुधबार राती पक्राउ गर्न सफल भएका हौं।’
प्रहरीको नियन्त्रणमा पुगेपछि उनीहरुको साथबाट बरामद भएका सामानहरु देख्दा कास्की प्रहरी समेत अचम्मित पर्यो। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता डिएसपी श्रवणकुमार विकले दिएको जानकारी अनुसार, पक्राउ परेका दर्जी र क्षेत्रीका साथबाट भारतीय सिमकार्ड १ थान, नेपालको एनसेलको सिमकार्ड ३ थान, एनटिसीको सिमकार्ड ५ थान र मोबाइल ४ सेट पनि बरामद गरेको छ। अभियुक्तद्वयबाट प्रहरीले ५ सय ७२ ग्राम गाँजा, भरुवा बन्दुकमा लाग्ने केप २७ थान लगायत पनि बरामद भएको डिएसपी विकले बताए।
अभियुक्त क्षेत्री यसअघि पर्वतमा २०७९ सालमा हातहतियार तथा खरखजना सम्बन्धी मुद्दा चलेको र २०७१ मा पोखरामा अभद्र व्यवहारमा मुद्दा चलेको प्रहरीले बताएको छ। उनीहरूलाई अपराधिक लाभ, हातहतियार तथा खरखजना र लागुऔषध सम्बन्धी मुद्दा चलाउने प्रहरीको तयारी छ।