पोखरा, २५ माघ २०८० /
नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीको काठमाण्डौको संशमुलस्थित घरमा प्रहरीले बुधबार साँझ छापा मारेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पूर्व डीआईजी जोशीको घरमा रहेको नेचर हब इन्टरनेसनल प्रालिको अफिसमा छापा मारेको हो।
सहकारी सम्बन्धी सम्पूर्ण सूचना तथा कारोबार सोही घरमा रहेको सुचना पाएको प्रहरीले उक्त घरमा छापा मार्दा चार वटा सर्भर समेत बरामद गरेको प्राप्त समाचारमा जनाइएको छ। बरामद भएका सर्भरहरुमा सिजिएस बैंकिङको मुख्य सफ्टवेयर उल्लेख गरिएको छ।
पोखराको सूर्यदर्शन सहकारीका ठगी प्रकरणका मुख्य नाइके जीबी राई (गितेन्द्रबाबु) का साझेदार थिए पूर्वडीआईजी जोशी। उनीहरु दुईकै साझेदारमा ग्यालेक्सी फोर के टेलिभिजन समेत सञ्चालनमा आएको थियो।
उनै पार्टनरको घरमा रहेको नेचर हबको कार्यालयमा सहकारी सम्पूर्ण सूचना भएको सफ्टवेयर राखिएको सूचनापछि प्रहरील छापा मारेको हो।
पोखराको सूर्यदर्शन सहकारीका पीडितहरुले सोमबार मात्रै रवि लामिछाने सहित १८ जना विरुद्ध पुरक जाहेरी समेत दिएका छन्। यता यो सहकारीका मुख्य ठग भनिएका जीबी राईविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ भने रेड नोटिसका लागि समेत पत्राचार भएको छ।
यो सहकारीको रकम हिनामिना गरेको प्रकरणमा जीबी राईसहित एक दर्जन व्यक्ति अझै फरार छन्।
महेन्द्र भोटे विरुद्ध पनि डिफ्युजन नोटिस जारीका लागि पत्राचार गरिएको थियो। तर इन्टरपोलमा पत्रचार गरेको विषय सार्वजनिक भएपछि भोटेसँगै भविश्वर अर्याल आफैं अदालतमा उपस्थित भएका थिए। कास्की जिल्ला अदालतले उनीहरु दुवै जनालाई पुस १८ गते पुर्पक्षका लागि कारागार चलान गरेको थियो।
सहकारीका कोषाध्यक्ष कुमार रम्तेलसहितका व्यक्ति पनि पक्राउ परिसकेका छन्। जिबी राई ग्यालेक्सी फोर–के टेलिभिजनका सञ्चालक समेत हुन्। उनी विरूद्ध अरू सहकारीमार्फत ठगी गरेको समेत आरोप छ। कास्कीमा मात्रै १९ हजारभन्दा बढी बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप छ।
यो मुद्दा अहिले कास्की अदालतमा विचाराधीन छ। रकम हिनामिना प्रकरणमा सहकारी ऐन र मुलुकी अपराध संहिताको ठगी सम्बन्धी कसुरमा उनीहरु विरुद्ध मुद्दा चलाइएको छ।