मित्रमिलन सहकारी ठगी प्रकरण : सहप्राध्यापक सात लाख रुपियाँ धरौटीमा छुटे

मित्रमिलन सहकारी ठगी प्रकरण : सहप्राध्यापक सात लाख रुपियाँ धरौटीमा छुटे


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २४ माघ २०८०
  • 6.3K
    Shares

सहप्राध्यापक विष्णुप्रसाद भण्डारी

पोखरा, २४ माघ २०८० /

मित्रमिलन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पृथ्वी नारायण क्याम्पस पोखराका सहप्राध्यापक धरौटीमा छुटेका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश रामचन्द्र शर्माको इजलासले दिएको आदेश वमोजिम सहप्राध्यापक भण्डारीले सात लाख लाख रुपैयाँ धरौटी राखेर तारेखमा छुटेका हुन्।

मित्रमिलन सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा सोमबार साँझ पक्राउ परेका सहप्राध्यापक भण्डारीलाई जिल्ला अदालत कास्कीका न्यायाधीश रामचन्द्र शर्माको इजलासले सात लाख रुपियाँ धरौटी लिएर तारेखमा छाड्न आदेश दिएको कास्की जिल्ला अदालतका श्रेस्तेदार रुद्रप्रसाद अर्यालले जानकारी दिए ।

उनलाई सहकारीका पदाधिकारीसँगको मिलेमतोमा बचतकर्ताको रकम दुरुपयोग गरेको आरोप थियो । भण्डारीले भने आफूलाई जानकारी नै नदिइ कीर्ते गरेर फसाइएको बताउँदै आएका थिए ।

मित्रमिलन सहकारी ठगी प्रकरणमा ३३ जनालाई पक्राउ पुर्जी जारी भएकोमा आठ जना पक्राउ परेका छन् । जसमध्ये ६ जना पुर्पक्षका लागि थुनामा छन् भने भण्डारीसहित २ जना धरौटीमा रिहा भएका हुन् । यसअघि पक्राउ परेका लेखा समिति संयोजक सूर्य अधिकारीलाई पनि अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो ।

सहकारीका अध्यक्ष रमण पौडेल, पूर्व रजिष्ट्रार उदयबहादुर पराजुली, सहकारी सञ्चालक सदस्य गोपाल खनाल, कार्यकारी अधिकृत किरण अधिकारी, सल्लाहकार÷शेयर सदस्य राजु बराल, शेयर सदस्य बुद्धिसागर पौडेल थुनामा छन् ।

मित्रमिलन सहकारी प्रकरणमै पोखरा महानगरपालिका वडा नं. २१ का वडाध्यक्ष दीपक सुवेदीसहित २५ जना अझै फरार छन् । पोखरा महानगर–९, नयाँ बजारस्थित सहकारीका सञ्चालक र अन्य मिलेर करिब २७ करोड रकम अपचलन गरेको आरोप छ ।

प्रतिक्रिया