इमेज सहकारी ठगी प्रकरण : ढोरपाटन नगरपालिकाका मेयर नेपालीद्वारा आफ्नो नाममा रहेको सम्पत्ति बेचेर बचतकर्ताको रकम फिर्ता गर्ने प्रतिबद्धता

इमेज सहकारी ठगी प्रकरण : ढोरपाटन नगरपालिकाका मेयर नेपालीद्वारा आफ्नो नाममा रहेको सम्पत्ति बेचेर बचतकर्ताको रकम फिर्ता गर्ने प्रतिबद्धता


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २४ माघ २०८०
  • 4.3K
    Shares

पोखरा, २४ माघ २०८० /

इमेज बचत तथा ऋण सहकारीको एक अर्ब ५६ करोड रुपैयाँ हिनामिना गरेर गएको जेठ ४ गतेदेखि सम्पर्कविहीन भएका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली आफ्नो नाममा भएको सम्पत्ति बेचेर बचतकर्ताको रकम फिर्ता गर्ने प्रतिवद्धता जनाएका छन् ।

माघ १९ गतेको मितिमा सार्वजनिक अपिल जारी गर्दै उनले आफू र श्रीमतीका नाममा रहेको सम्पूर्ण चलअचल सम्पत्ति सहकारीको नाममा गरिदिने प्रतिबद्धता दोहोर्याएका हुन्। यसअघि मंसिर ५ गते पनि उनले सामाजिक सञ्जालमार्फत् पीडितहरुको बचत फिर्ता गर्न आफ्नो सम्पत्ति बेच्न तयार रहेको उद्घोष गरेका थिए।

उनले आफू र श्रीमतीको नाममा रहेको जग्गाको कित्ता नम्बरसमेत उल्लेख गर्दै ती जग्गा र सम्पत्ति केही व्यक्तिगत कमाइ र केही सहकारीकै सेयर सदस्यहरूको रकमबाट किनिएको स्वीकारेका छन्।

नियतका कारण नभएर वित्तीय क्षेत्रमा आएको संकटका कारण सहकारीमा समस्या आएको बताउँदै उनले भनेका छन्,‘ सहकारीमा आएको समस्याका कारण हाम्रो नियतमा समेत शंका उत्पन्न भएको छ। सहकारीमा बचत गरेका सदस्यहरूको बचत रकम फिर्ता गर्ने कुरामा आज पनि हामी उत्तिकै प्रतिवद्ध छौँ, संवेदनशील छौँ।’

घरजग्गाहरु बिक्री गरी बैंकको ऋण र सदस्य बचतकर्ताहरूको बचत फिर्ता गर्ने कुरामा सघाउन पीडित सेयर सदस्य बचतकर्ताहरू, सहकारी विभाग, सहकारी रजिष्ट्रारको कार्यालय पोखरा, गण्डकी प्रदेश सरकार, सम्पूर्ण स्थानीय तहहरु, जिल्ला प्रशासन कार्यालय बागलुङ, जिल्ला प्रहरी कार्यालय बागलुङ, अदालत, राजनीतिक दलहरु, नागरिक समाज, सहकारी अभियानकर्मीहरूसँग उनले अपिल पनि गरेका छन्।

त्यसो त, नेपाली सम्पर्कविहीन भएपछि बागलुङ, गलकोट, बुर्तिबाङ र पोखरामा छुट्टाछुट्टै रुपले गठित इमेज बचत पीडित संघर्ष समितिले यसअघि नै उनको सम्पत्ति लिलामीको सूचना जारी गरेको थियो।

उनले सार्वजनिक रुपले बचत फिर्ता गर्ने भने अनुसारको सहजीकरण गर्ने भन्दै माघको ६ गते बागलुङमा इमेज बचत तथा ऋण सहकारी संस्थाको शनिबार विशेष साधारणसभा भएको थियो भने करिब ६० प्रतिशत सहकारीका पीडित बचतकर्ता तथा सेयर सदस्य त्यहाँ उपस्थित थिए।

संघर्ष समितिका अध्यक्ष डिलबहादुर कार्कीले साधारण सभाको म्याण्डेट अनुसार नै सम्पत्ति बिक्री गर्ने भन्दै गत माघ १२ गते सार्वजनिक सूचना जारी गरिएको र केही व्यक्तिले लिलामीप्रति चासो देखाएको बताए। सूचनामा नेपाली दम्पत्तिको नाममा काठमाडौंमा ७५ करोड, पोखरामा ४५ करोड, बागलुङमा २५ करोड र ढोरपाटनमा ८० करोड बराबरको सम्पत्ति रहेको उल्लेख गर्दै बिक्रीका लागि आह्वान गरिएको थियो।

मेयर नेपालीविरुद्ध एक हजार पांच सय ५० जनाले जिल्ला अदालतमा सहकारी ठगीको मुद्दा दिएका छन्। उनीहरुको एक अर्ब ६० करोड रकम हिनामिना भएको जाहेरीमा उल्लेख छ। यता पोखरामा पांच सय २४ बचतकर्ताले प्रहरीमा उजुरी दिएका छन्। उजुरी दिने बचतकर्ताले ५७ करोड ९४ लाख रुपैयाँ ठगी गरेको दाबी गरेका छन्। त्यसबाहेक नेपालीले ग्लोबल आइएमई बैंक, राष्ट्रिय सहकारी बैंक र गरिमा विकास बैंकको गरी झण्डै ३५ करोड ऋण लिएको देखिएको छ। नेपाल प्रहरीले उनीविरुद्ध पक्राउका लागि इन्टरपोलमार्फत रेडकर्नर नोटिस जारी गरेको छ।

प्रतिक्रिया