पोखरा, २३ माघ २०८० /
सर्लाहीमा गएराती एउटा भारतीय नम्बर प्लेटको गाडी दुर्घटनाग्रस्त हुँदा नापी कार्यालय मलङ्गवाका प्रमुख सञ्जय मानन्धरसहित गाडीमा सवार ११ जना घाइते भएका छन्।
सदरमुकाम मलङ्गवाबाट नवलपुरतर्फ आउँदै गरेको नापी कार्यालयका कर्मचारी सवार बीआर ०६ पीढी ९६४८ नम्बरको सफारी गाडी सोमबार राति पौने ८ बजेतिर नवलपुर–मलङ्गवा सडक खण्डमा नवलपुरतर्फ नै उखु बोकेर आउँदै गरेको ज २ त १०६७ नम्बरको ट्याक्टरसंग ठोक्किएर दुर्घटनाग्रस्त भएको हो।
दुर्घटनामा गाडीमा सवार नापी कार्यालयका प्रमुख काभ्रेको बनेपा उपमहानगरपालिका घर भएका ४५ वर्षीय सञ्जय मानन्धर, सर्लाहीको बागमती नगरपालिका–५, का विनोद घिमिरे, महोत्तरीका ३० वर्षीय बैजु यादव र सर्लाहीको मलङ्गवा नगरपालिका–३, का ३५ वर्षीय रामलाल साहको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
त्यस्तै दुर्घटनामा सर्लाहीको कौडेना गाउँपालिका–२, का २४ वर्षीय सन्जित मण्डल, महोत्तरीको एकडारा गाउँपालिका–२, का ३० वर्षीय रिटेन यादव, सर्लाहीको मलङ्गवा नगरपालिका–३, का ५० वर्षीय बैधनाथ पटेल, मलङ्गवा नगरपालिका–७, का ३४ वर्षीय रामबाबु राय, धनुषाको शहीद नगर नगरपालिका–७, का २९ वर्षीय दीपेन्द्र यादव, बाराको कलैया उपमहानगरपालिका–२०, का २४ वर्षीय शहीद अनवर र महोत्तरीका २५ वर्षीय अजय यादव घाइते भएका छन् ।
घाइते सबैको एलेक्स न्यूरो अस्पताल कैलया, बारामा उपचार जारी रहेको छ । प्रादेशिक अस्पताल मलङ्गवामा सामान्य उपचारपश्चात् सबै घाइतेलाई एलेक्स न्यूरो रेफर गरिएको हो ।
सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपेन्द्र पंजियार थारुले अहिले (मङ्गलबार) बिहान उपचाररत घाइतेको थप अवस्था बुझ्ने काम भइरहेको जानकारी दिए । उनले दुर्घटनाको कारण खुल्न बाँकी रहेको बताए ।
दुर्घटनामा नापी कार्यालयका कर्मचारी सवार गाडी क्षतिग्रस्त छ । उखु बोकेको ट्याक्टरका चालक फरार छन् ।