रास्वपा सभापति लामिछाने, माओवादी केन्द्रका युवा नेता दिपेश पुन लगायत विभिन्न कम्पनी र सहकारी विरुद्ध प्रहरीमा पर्यो उजुरी

रास्वपा सभापति लामिछाने, माओवादी केन्द्रका युवा नेता दिपेश पुन लगायत विभिन्न कम्पनी र सहकारी विरुद्ध प्रहरीमा पर्यो उजुरी


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २३ माघ २०८०
  • 4.7K
    Shares

दिपेश पुन, रबि लामिछाने, एसपी मोहन थापा

पोखरा, २३ माघ २०८० /

सुर्यदर्शन सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा अनुसन्धान गर्न माग राख्दै पीडित बचतकर्ताहरुले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेकपा माओवादी केन्द्रका विद्यार्थी नेता दीपेश पुनसहित व्यक्ति र संस्था गरी १८ जनाविरुद्ध सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका छन् ।

सहकारी पीडितहरुले रास्वपा सभापति लामिछाने, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरासमेत रहेका अखिल क्रान्तिकारीका महासचिव दिपेश पुन, सहकारीका पूर्वअध्यक्ष ज्ञानबहादुर बमजन, सानो पाईला सहकारी विराटनगर, स्वर्णलक्ष्मी सहकारी काठमाडौं, सुप्रिम सहकारी बुटवल, साहारा सहकारी चितवन, समानता सहकारी नेपालगञ्ज, गोर्खा मिडिया प्रा.लि., नेचर हब प्रा.लि., नेचर नेष्ट कम्पनी, ग्यालेक्सी फोर के टेलिभिजन, गोर्खा ग्रुप इन्भेस्टमेन्ट, स्प्रिङ उड रियलस्टेट, वारिसान इन्फोमेसन टेक्नोलोजी, सोनी क्यापिटल, ग्रिजी स्पान रेष्टुरेण्ट काठमाडौं र गोर्खा आर्युर्वेद कम्पनी लगायतलाई विपक्षी बनाएका छन् ।

सूर्यदर्शन सहकारीबाट ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्न गैरकानुनी रूपमा करोडौं रुपैयाँ लगेको र टेलिभिजनको प्रबन्ध निर्देशक लामिछाने भएकाले छानबिनको दायरामा ल्याउनुपर्ने पीडित पक्षको माग रहेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले सहकारी पीडित पक्षले ‘पूरक’ जाहेरी दिएको जानकारी दिए । उनले उक्त विषयमा पहिल्यै दर्ता भएर अनुसन्धान जारी रहेकाले अहिले नयाँ जाहेरी दर्ता गर्नुनपर्ने बताए ।

‘यो विषय यहाँबाट अदालतमा पनि पुगिसकेको विषय हो । यस विषयमा थप अनुसन्धानका लागि उहाँहरुले उजुरी दिनुभएको हो’, डीएसपी विकले अनलाइनखबरसँग भने, ‘यो पनि पहिलेकै विषयसँग जोडेर पूरक अनुसन्धान प्रक्रिया अघि बढ्छ ।’

सहकारीका बचतकर्ताले जम्मा गरेको रकम हिनामिना गरेको आरोपमा कोषाध्यक्ष कुमार रम्तेल कास्की जिल्ला अदालतको आदेशमा हाल पुर्पक्षका लागि थुनामा छन् । यो मामिलामा उपाध्यक्ष कैलाशकुमार दर्लामी, सदस्य शिवबहादुर गुरुङ र भगिश्वर अर्याल पनि पक्राउ परेर पुर्पक्षका लागि थुनामा रहेको प्रहरीले जनाएको छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले जीबी राईसहित १९ जनालाई पक्राउ पुर्जी जारी गरेको थियो । तीमध्ये १५ जना फरार छन् । जसमा संस्थापक अध्यक्ष जीबी राईसहित वर्तमान अध्यक्ष थानबहादुर बुढा मगर, पूर्वअध्यक्ष भूपेन्द्र राई, सचिव धीरजकुमार दाससहित लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरुङ, सदस्य हेमन्त अधिकारी, प्रमोद भट्टराई, अनुज नकर्मी, आईस्मा गुरुङ, कविता तामाङ, सागर केसी, ललिता तामाङ, दिनेश रोका र सुरज श्रेष्ठ फरार रहेका छन् ।

सूर्यदर्शनका पदाधिकारीले बचतकर्ताको एक अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ हिनामिना गरेको जाहेरीमा उल्लेख छ । उनीहरुलाई सहकारी ऐन अनुसार बिगो बराबरको जरिवाना र आठदेखि १० वर्ष कैद सजायको माग गरिएको छ ।

सूर्यदर्शनबाट जीबी राई समूहले नक्कली सेयर सदस्य र विभिन्न कम्पनी कडा गरेर पैसा निकालेर अपचलन गरेको प्रहरीले बुझाएको प्रतिवेदनमा उल्लेख छ ।

सहकारीका सञ्चालक तथा पदाधिकारीले कृत्रिम सेयर सदस्य र खाता खोलेर रकम अपचलन गरेको, सहकारीको नाममा कुनै पनि सम्पत्ति नराखी व्यक्तिको नाममा गरेको देखिएको प्रहरीको निष्कर्ष छ ।

पोखरा महानगरपालिकाले छानबिन गरेर साउन ३ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा छानबिन प्रतिवेदन बुझाएपछि प्रहरीले असोज १६ गते जिल्ला सरकारी वकिलको कार्यालय कास्कीमा प्रतिवेदन पेस गरेको थियो । सरकारी वकिलको कार्यालयले असोज १८ गते जिल्ला अदालतमा सहकारी ऐन २०७४ अन्तर्गत ठगी मुद्दा दर्ता गरेको थियो ।

प्रतिक्रिया