धरहराको निःशुल्क पार्किङ बन्द गर्न पत्र आएपछि बालेन आक्रोशित

धरहराको निःशुल्क पार्किङ बन्द गर्न पत्र आएपछि बालेन आक्रोशित


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २२ माघ २०८०
  • 9.6K
    Shares

baalen shah , बालेन शाह

पोखरा, २२ माघ २०८० /

काठमाण्डौ महानगरले हालै धरहरामा निःशुल्क पार्किङ शुरु गरेपछि त्यसलाई बन्द गर्न पत्र आएको भन्दै मेयर बालेन शाह आक्रोशित बनेका छन्। उनले आज एकाबिहानै सामाजिक संजालमा एक स्टाटस राख्दै महानगरले हालै धरहरामा निःशुल्क पार्किङ शुरु गरेपछि त्यसलाई बन्द गर्न पत्र आएको खुलाएका छन्।

तर त्यो पत्र कसले लेखेको हो भन्ने बारेमा केही खुलाएका छैनन्। शहरी विकास मन्त्रालयले समन्वय नै नगरी निर्माणाधीन धरहराको बेसमेन्टमा पार्किङ गराएको भन्दै महानगरपालिकाको ध्यानाकर्षण गराएको थियो ।

उद्घाटन भएको दुई वर्ष नौ महिना हुँदा पनि अझै धरहरा निर्माणको काम नसकिएकोमा आक्रोश पोख्दै मेयर बालेन शाहले निर्माण सम्पन्न नभई उद्घाटन गर्ने कुप्रवृत्तिलाई निरुत्साहित गर्न आग्रह गरेका छन् । तोकिएको समयमा काम सम्पन्न नहुने र भित्तामा नाम लेख्न हतारोमा निर्णय भई उद्घाटन गर्ने प्रवृत्तिलाई भ्रष्टाचारको नयाँ प्रकृति मान्ने राष्ट्रिय नीति बनाउनुपर्ने उनको भनाई छ ।

उनले आफ्नो स्टाटसमा अघि भनेका छन्- उद्घाटन गरेको २ वर्ष ९ महिनापछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ? पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नु भन्दा तत्कालीन प्रधानमन्त्री केपी ओलीले भन्नू भएको थियो ‘नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ ?’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ ।

सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर गर्ने र शहरको व्यवस्थापनमा प्रभाव पार्ने यस्ता कुराहरूसँग ख्यालठट्टा नगर्न आग्रह गर्दै शाहले सो स्थानमा पार्किङ बन्द नरहेको पनि बताएका छन् ।

उनले भनेका छन्- अन्त्यमा सो स्थानमा पार्किङ बन्द छैन र बन्द हुने छैन महानगरको पहलमा अहिलेको लागि नि:शुल्क सञ्चालन हुँदै छ, अझै व्यवस्थापन गर्दै लग्नेछौ । अहिले धेरैको नजर यहाँ को पार्किङ को ठेक्का लिएर नेपाल सरकारको सम्पत्तिमाथि रजाइँ गर्ने मनसाय देखिएको छ । हामी काठमाडौँ महानगरमा रहुन्जेल कसैको निजी स्वार्थको लागि सार्वजनिक सम्पत्ति प्रयोग हुन दिने छैनौं ।

प्रतिक्रिया