विनोद शाही हत्या प्रकरण : फरार जिल्ला समन्वय समिति अछामकी उपप्रमुख दानमती कारागार चलान

विनोद शाही हत्या प्रकरण : फरार जिल्ला समन्वय समिति अछामकी उपप्रमुख दानमती कारागार चलान


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १७ माघ २०८०
  • 7K
    Shares

पोखरा, १७ माघ २०८० /

जिल्ला समन्वय समिति अछामकी उपप्रमुख दानमती बम (शाही)लाई कारागार चलान गरिएको छ। जिल्ला अदालतमा मङ्गलवार भएको थुनछेक बहसपछि उनलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश भएको हो।

उनी बिरुद्ध गत स्थानीय तहको निर्वाचनका क्रममा अछाम जिल्लाको पञ्चदेव विनायक नगरपालिकाका विनोद शाहीको हत्यामा संलग्न रहेको आरोप लागेको थियो। शाहीको हत्या आरोपमा फरार रहेकी बम मङ्गलवार अदालतमा हाजिर भएकी थिइन्।

जिल्ला अदालत अछामले उनलाई पुर्पक्षका लागि थुनामा रहने गरी कारागार चलान गरेको स्रेस्तेदार शंकर प्रसाद अधिकारीले बताए। अधिकारीका अनुसार उनको थप बयान लगायतको प्रक्रियासमेत बाँकी छ।

विनोदको हत्या आरोपमा उनीसँगै पाँच जना आरोपीतहरू पनि कारागारमा रहेका छन। सजनबहादुर शाही भने धरौटीमा छुटेका छन्।

यस्तो थियो विनोद हत्याको घटना

०७९ जेठ १६ गते अछामको पञ्चदेवल नगरपालिका– ४ कुुच्चीका महेन्द्र शाही, देवेन्द्र शाही र गंगाबहादुर शाहीको दुई समूहबीच गाउँमा झडप भयो। त्यो दिन कुटाकुट हुँदा दुवै पक्षका युवा घाइते भए।

झडपमा संलग्नलाई पक्राउ गर्न १७ गते गाउँमा प्रहरी पुग्दा अधिकांश युवा भागे। केहीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीसँग पनि स्थानीयको हात हालाहाल भयो।

सो क्रममा प्रहरीले गर्भवती महिला र बालबालिकालाई समेत धरपकड गर्दै केही युवालाई नियन्त्रणमा लियो। १७ गते गाउँमा प्रहरी पुग्दा भागेका सबै युवा १९ गते सम्पर्कमा आए, तर पञ्चदेवल विनायक नगरपालिका– ४ कुच्चीको रिठारुख टोलका बलबहादुर शाहीका १५ वर्षीय छोरा विनोद शाही भने सम्पर्कमा नआएपछि त्यही दिनदेखि उनको व्यापक खोजी थालियो ।

०७९ वैशाख ३० गते स्थानीय तह निर्वाचनको मतदानका वेला कुच्ची स्वास्थ्य चौकी मतदान केन्द्रमा एमाले, एकीकृत समाजवादी र कांग्रेसका बीच ‘फेकभोट’ का विषयमा झडप भएको थियो।

त्यस दिन कांग्रेसकी दुर्गाकुमारी शाहीले धेरैपटक अन्य व्यक्तिका नाममा मतदान गरेको एमाले, समाजवादीको आरोप छ भने एमाले, समाजवादीले मतदानमा अवरोध गरेको कांग्रेसको आरोप छ। त्यही विषयलाई लिएर १६ गते कुच्चीको एक चिया पसलमा युवाहरूबीच विवाद भएको हो।

विवादकै क्रममा १७ गते राति प्रहरी गाउँमै रहेका वेला साढे ९ बजेतिर बेपत्ता भएका विनोद २१ गते बिहान गाउँनजिकैको भिरमा मृत अवस्थामा भेटिए। टाउको फुटेको, घाँटी रेटिएको र दुवै खुट्टामा चोट लागेर आधा सडेको अवस्थामा बिहान १० बजेतिर भिरमा शव भेटिएको थियो।

पीडित परिवारका अनुसार जेठ १७ गते राति स्थानीय रामबहादुर शाहीको घरभित्र विनोदको हत्या गरेर त्यसको तीन दिनसम्म उक्त घरमा ताला लगाई बन्द राखिएको थियो । घरको चाबी हराएको बहाना गरेर उनीहरूले घरभित्र शव लुकाएको र तेस्रो दिनको राति शव लगेर भिरमा खसालेपछि मात्र ढोका खुलेको मृतकका बुबा बलबहादुर शाहीले बताए ।

स्थानीय तहको निर्वाचनका क्रममा विनायकका १५ वर्षीय विनोद शाहीको अपहरणपछि हत्या भएको भन्दै प्रहरीमा उजुरी परेको थियो। प्रहरीले आरोपीतहरूलाई अदालतमा हाजिर गराएको हो। २०७९ जेठ १६ गते विनोदको स्थानीय युवाहरूसँग झगडा भएको थियो। उनको शव जेठ २१ गते भिरमा फेला परेको थियो।

प्रतिक्रिया