पोखरा, १६ माघ २०८० /
ईमेज सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेकी उक्त सहकारीकी कोषाध्यक्ष लक्ष्मी सेन सुनार पुर्पक्षको लागि जेल चलान भएकी छन् । जिल्ला अदालत बागलुङले सोमबार कोषाध्यक्ष सुनारलाई पुर्पक्षको लागि जेल चलान आदेश दिएको हो ।
असार १० गते पक्राउ पुर्जी जारी भएपछि फरार रहेकी सुनारलाई माघ ११ गते नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले ललितपुरबाट पक्राउ गरेको थियो ।
बैशाख ७ गतेदेखि इमेज सहकारी संस्था बन्द छ । सहकारीका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका नगर प्रमुख नेपालीले गण्डकी प्रदेशको राजधानी पोखरासँगै बागलुङ, बुर्तिबाङ, गलकोटमा गरी एकअर्ब ५४ करोड रूपैयाँ बढी रकम बचतकर्ताबाट उठाएर हिनामिना गरेको भन्दै एक हजार चार सय ८१ जना बचतकर्ताले सहकारीका कर्मचारी र सञ्चालकसहित ११ जनाविरुद्ध अदालतमा ठगीको मुद्दा दर्ता गराएका थिए । रेड कर्नर नोटिस जारी भएका मेयर देवकुमार नेपाली भने फरार छन् ।