रुकुम पश्चिममा गएराती स्थानीय जनताले प्रहरीमाथि गरे ढुङ्गामुडा : दुई प्रहरी घाइते

रुकुम पश्चिममा गएराती स्थानीय जनताले प्रहरीमाथि गरे ढुङ्गामुडा : दुई प्रहरी घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १५ माघ २०८०
  • 6.3K
    Shares

काठमाण्डौ, १५ माघ २०८० /

रुकुम पश्चिममा गएराती स्थानीय बासिन्दाले प्रहरी माथि ढुङ्गामुडा गर्दा दुई जना प्रहरी घाइते भएका छन्। स्थानीय बासिन्दाले आइतबार बेलुका ईलाका प्रहरी कार्यालय बाँफिकोट गाउँपालिका–३, स्यार्पुका प्रहरीमाथि ढुङ्गामुडा गर्दा दुई जना प्रहरी घाइते भएका हुन्।

स्थानीय बासिन्दाले ढुङ्गामुडा गर्दा प्रहरी जवान महेन्द्र बहादुर शाही र हिमराज खड्का घाइते भएको रुकुम पश्चिम प्रहरीले जनाएको छ । आक्रमणमा परी घाइते भएका प्रहरी जवान शाहीको ढाडमा र खड्काको टाउकोमा चोट लागेको छ । घाइतेलाई उपचारका लागि आइतबार राति नै जिल्ला अस्पताल सल्ले ल्याइएको र थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा पठाइएको छ ।

बाँफिकोट गाउँपालिका–५ का ३४ वर्षीय हिरालाल केसीलाई बाँफिकोट गाउँपालिका–३ का २७ वर्षीय गोविन्द बिक, वडा नम्बर –४ का २२ वर्षीय लक्ष्मण बिक, २० वर्षीय सञ्जु खड्का लगायत अन्य १२–१३ जनाको समूहले प्रहरी माथि ढुङ्गामुडा गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए।

स्थानीयले फोनमार्फत प्रहरीमाथि ढुङ्गामुडा गरेको सुचना दिए पश्चात् प्रहरी नायव निरीक्षक शोभा सिंह थारुको कमान्डमा चार जनाको प्रहरीको टोली घटनास्थल पुगेको थियो । घटनास्थलमा पुगेर सम्झाइ–बुझाइ गर्न खोज्दा उल्टै प्रहरीमाथि आक्रमण भएको खड्काले बताए । ‘उनीहरूले प्रहरी माथि हातपात गर्दै ढुङ्गा समेत प्रहार गरे,’ उनले भने, ‘हाम्रो साथीहरू घाइते हुनुभयो ।’ प्रहरीमाथि आक्रमण गर्ने व्यक्तिहरू फरार रहेको र उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया