सम्पूर्ण राजनीतिक दलहरुलाई मिलेर अघि बढ्न चीनको सुझाब

सम्पूर्ण राजनीतिक दलहरुलाई मिलेर अघि बढ्न चीनको सुझाब

नेपालमा संचालित चिनियाँ परियोजनाहरुमा बिदेशी शक्तिहरुले गिजोल्ने गरेकोमा असन्तुष्टि प्रकट


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १४ माघ २०८०
  • 2.8K
    Shares

काठमाडौं १४ माघ २०८० /

नेपाल भ्रमणमा रहेको उच्च स्तरीय चिनियाँ प्रतिनिधि मण्डलले सम्पूर्ण राजनीतिक दलहरुलाई मिलेर अघि बढ्न सुझाब दिएको छ।

नेपालका नेताहरू आन्तरिक कलह र झैँ झगडामा रमाउने गरेको र त्यसबाट देशको विकासमा प्रत्यक्ष असर परेको सुनाउंदै उक्त चिनियाँ प्रतिनिधि मण्डलले नेपालका राजनीतिक दलहरूसँग आइतबार काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रममा नेपालका राजनीतिक दलहरुलाई त्यस्तो सुझाब दिएको हो।

उक्त अन्तरक्रिया कार्यक्रममा चिनियाँ प्रतिनिधि मण्डलको नेतृत्व गरिरहेकी चिनियाँ कम्युनिस्ट पार्टीकी अन्तर्राष्ट्रिय विभाग विदेश उपमन्त्री सुन हेयानले नेपालको नीतिगत अस्थिरताका कारण चिनियाँ बयाबसायीहरुले नेपालमा लगानी गर्ने नसकिरहेको टिप्पणी गर्दै नेपालमा लगानी गर्नका लागि व्यावसायिक वातावरण सुधार गर्न जरुरी रहेको बताइन् ।

उपमन्त्री हेयानले नेपालमा संचालित चिनियाँ परियोजनाहरुमा विदेशी शक्तिले गिजोल्ने काम गरिरहेको तथ्य औंल्याउँदै त्यसले नेपालको विकाससँगै चीनसँगको सम्बन्धमा समेत असर पर्ने संकेत गरिन्।

चिनियाँ प्रतिनिधिमण्डलले उठाएका तीन विषयमा जवाफ दिँदै नेपाली नेताहरूले व्यावसायिक वातावरण सुधार गर्न नेपाल तयार रहेको बताए । यसका लागि नेपालले नीतिगत सुधार गर्नतर्फ ध्यान दिएको र आवश्यकताका आधारमा कानुनी व्यवस्था समेत सुधार गर्दै जाने बताए । ‘नेपाल आफ्नो व्यावसायिक वातावरण सुधार गर्न तत्पर छ,’ नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले भने ।

चिनियाँ परियोजना विदेशीले गिजोल्ने गरेको भन्ने विषयमा जवाफ दिँदै सकेसम्म यस्तो हुन नदिने नेपाली नेताको प्रतिबद्धता छ । उनीहरुले नेपालको विकासमा चीनको सहयोग महत्त्वपूर्ण भएकाले विदेशी शक्तिलाई चिनियाँ परियोजनामाथि खेल्न नदिने समेत बताए । यसबाहेक नेपाली नेता आन्तरिक कलहमा रमाउने गरेकोबारे जवाफ फर्काउँदै यो नेपालको आन्तरिक विषय भएको नेताहरूले बताएका छन् ।

नेपाली नेताहरू आन्तरिक कलह मात्रै नगर्ने भएकाले आवश्यक पर्दा राष्ट्रिय सहमति गर्न समेत एक जुट हुने उनीहरूको तर्क थियो ।

अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी लगायत राजनीतिक दलका नेताको सहभागिता थियो ।

प्रतिक्रिया