सूर्यदर्शन सहकारी ठगी प्रकरण : दुई पदाधिकारीविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी

सूर्यदर्शन सहकारी ठगी प्रकरण : दुई पदाधिकारीविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १४ माघ २०८०
  • 4.1K
    Shares

सूर्यदर्शन सहकारी संस्था

काठमाडौं १४ माघ २०८० /

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा थप दुई जनाविरुद्ध इन्टरपोलले डिफ्यूजन नोटिस जारी गरेको छ। अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को महासचिवालयले आइतबार सूर्यदर्शन सहकारीका वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भुपेन्द्र राईविरुद्ध डिफ्यूजन नोटिस जारी गरेको हो । यस अघि शुक्रबार मात्रै इन्टरपोलले सो प्रकरणमा मुख्य आरोपी ठानिएका जीबी राईविरुद्ध डिफ्यूजन नोटिस जारी गरेको थियो ।

सूर्यदर्शन सहकारीसँग जोडिएको ठगी सम्बन्धी मुद्दामा डिफ्यूजन नोटिस जारी गरिदिन भन्दै जिल्ला प्रहरी कार्यालय, कास्कीले दुई साताअघि प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो । त्यसको आधारमा इन्टरपोलको नेश्नल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंले डिफ्यूजन नोटिस जारी गर्न इन्टरपोलको महासचिवालयलाई अनुुरोध गरेको थियो ।

यो नोटिस जारी भएपछि इन्टरपोलका सदस्य राष्ट्रहरुमा उनीहरु देखिएमा उनीहरुलाई त्यस देशले डिपोर्ट गराएर नेपाल ल्याउने प्रक्रिया थालिने प्रहरीले जानकारी दिएको छ।

सहकारीका बचतकर्ताले जम्मा गरेको रकम हिनामिना गरेको आरोपमा कोषाध्यक्ष कुमार रम्तेललाई कास्की जिल्ला अदालतले गत असोज २१ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको थियो । यो मामलामा उपाध्यक्ष कैलाशकुमार दर्लामी, सदस्य शिवबहादुर गुरुङ र भगिश्वर अर्याल पनि पक्राउ परेर पुर्पक्षका लागि थुनामा रहेको कास्की प्रहरीले जनाएको छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले जीबीसहित १९ जनालाई पक्राउ पुर्जी जारी गरेको थियो । तीमध्ये १५ जना फरार छन् ।

सूर्यदर्शनका पदाधिकारीले बचतकर्ताको एकअर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ हिनामिना गरेको जाहेरीमा उल्लेख छ । उनीहरुलाई सहकारी ऐन अनुसार बिगो बराबरको जरिवाना र आठदेखि १० वर्ष कैद सजायको माग गरिएको छ ।

सूर्यदर्शनबाट जीबी राई समूहले नक्कली सेयर सदस्य र विभिन्न कम्पनी कडा गरेर पैसा निकालेर अपचलन गरेको प्रहरीले बुझाएको प्रतिवेदनमा उल्लेख छ ।

सहकारीका सञ्चालक तथा पदाधिकारीले कृत्रिम सेयर सदस्य र खाता खोलेर रकम अपचलन गरेको, सहकारीको नाममा कुनै पनि सम्पत्ति नराखी व्यक्तिको नाममा गरेको देखिएको प्रहरीको निष्कर्ष छ ।

प्रतिक्रिया