भिजिट भिसामा सेटिङ : अध्यागमनमा संगठित रूपमै सेटिङ रहेको निष्कर्ष, अध्यागमनका थप सात कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी

भिजिट भिसामा सेटिङ : अध्यागमनमा संगठित रूपमै सेटिङ रहेको निष्कर्ष, अध्यागमनका थप सात कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १४ माघ २०८०
  • 6.3K
    Shares

काठमाडौं १४ माघ २०८० /

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा संगठित रूपमै भिजिट भिसाको सेटिङ चलेको प्रहरी अनुसन्धानले देखाएको छ । अध्यागमन अधिकृत नरवीर खड्कासहित १० जनालाई थुनामा राखी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरूको बयान र मोबाइलमाथि अनुसन्धान हुँदा संगठित गिरोहको संलग्नता पुष्टि भएको देखिएको हो ।

अध्यागमन अधिकृत खड्काले प्रहरी समक्ष आफूहरूले अन्य कर्मचारीहरुसंग मिलेरै भिजिट भिसामा यात्रा अनुमति दिने गरेको र पैसा बाँडेर लिने गरेको बयान दिएपछि जिल्ला अदालतले गिरोहमा आबद्ध थप सात अध्यागमन अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । प्रहरी स्रोतका अनुसार अध्यागमन अधिकृतहरू कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पीताम्बर रिमाल र सुजन फागोविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत, काठमाडौंले माघ ९ गते उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । केही दिनअघि पक्राउ पुर्जी लिएर यसमा संलग्न थप कर्मचारीको खोजी शुरु भइसकेको बताइएको छ ।

भिजिट भिसाको सेटिङमा प्रहरीले लिखत किर्ते तथा संगठित अपराधको कसुरमा अनुसन्धान गरिरहेको छ । अनुसन्धान अन्तिम चरणमा रहेको र केही दिनभित्रै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भूपेन्द्र खत्रीले बताए । ‘भिजिट भिसाको सेटिङमा अध्यागमनका कर्मचारीको भूमिकामाथि पनि विस्तृत अनुसन्धान भएको छ,’ उनले भने, ‘दोषी देखिएका सबैलाई प्रतिवादी बनाउन सिफारिस गर्छौँ ।’

दुई महिनाअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले यस प्रकरणमा प्रारम्भिक अनुसन्धान थालेको थियो । अपराध अनुसन्धान कार्यालयले अधिकृत खड्कासहितलाई पक्राउ गरी विस्तृत अनुसन्धानका लागि परिसरमा बुझाएको थियो । ३९ जना पक्राउ परेकामा किर्ते कागजपत्र बनाउने समूहविरुद्ध यसअघि नै अर्काे मुद्दा दायर भइसकेको छ ।

शुरु बिचौलिया गीता साहलाई पक्राउ गरी प्रहरीले यसको अनुसन्धान थालेको थियो । उनीमार्फत ट्राभल एजेन्सी सञ्चालक सरोज यादव पक्राउ परेकोमा उनीमार्फत नै प्रहरी अध्यागमन अधिकृत खड्कासम्म पुगेको हो । खड्काले यसमा संलग्न अन्य कर्मचारी र बिचौलियाबारे प्रहरीलाई खुलाएका थिए । सोही आधारमा ट्राभल एजेन्सी सञ्चालक पदम लामा, छिरिङ लामा, विनोद कार्की, रामप्रसाद भण्डारी, दिनेश ज्ञवालीलगायतलाई प्रहरीले पक्राउ गरेको हो । अधिकृत खड्काले श्रीमतीको बैंक खातामा समेत घुस लिने गरेका थिए ।

बिचौलियालाई ह्वाटएसपमा उनले श्रीमतीको बैंक खाताको क्युआर कोडसमेत पठाएको फेला परेको छ । अधिकृत भण्डारीकै बयानका आधारमा यसअघि अर्का अधिकृत ताराबहादुर कुँवरविरुद्ध प्रहरीले मुद्दा दायर गरिसकेको छ ।

खड्काविरुद्ध भने एक प्रहरी जवानलाई भिजिट भिसामा रसिया पठाउन सहयोग गरेको घटनामा मानव बेचबिखनको अर्काे मुद्दासमेत दायर भएको छ । जसमा उनलाई धरौटीमा छाड्ने आदेश भएको थियो । रसियन सेनामा भर्ना भएका ती प्रहरी पछि भागेर नेपाल आई उजुरी गरेका थिए । उनी अध्यागमनमा पैसा बुझाएरै दुबई हुँदै रसिया पुगेको अनुसन्धानमा खुलेको थियो ।

अध्यागमनको सेटिङमा दैनिक तीन सयजनासम्म विदेश उड्ने र अध्यागमन कर्मचारीले औसतमा प्रतिव्यक्ति ४० हजार रुपैयाँ पाउने गरेको पक्राउ परेकाबाट खुलेको छ । जसअनुसार अध्यागमन कर्मचारीले दैनिक एक करोड रुपैयाँसम्म घुस लिने गर्दथे । ट्राभल एजेन्सीका सञ्चालकहरूले अध्यागमनमा यस्तो सेटिङ मिलाउँदै आएका थिए । अध्यागमनमा लामो समयदेखि बस्दै आएका नायब सुब्बासँग उनीहरूको वर्षौँदेखि गठजोड देखिएको छ । अध्यागमनको ड्युटीमा जोसुकै भए पनि उनीहरूसँग बिचौलियाले सेटिङ मिलाउनुले संगठित रूपमै मानव तस्करीको सेटिङ चलेको देखाउने प्रहरी अधिकारी बताउँछन् ।

प्रहरी अनुसन्धानले सेटिङ बाहिर आएपछि गृह मन्त्रालयले हालै भिजिट भिसासम्बन्धी दुई वर्षदेखि लागू हुँदै आएको १७ बुँदे मापदण्ड खारेज गरी ६ बुँदे नयाँ कार्यविधि लागू गरेको छ । विगतमा विदेश नगएकाहरू खाडी देशमा घुम्न जान वार्षिक आय न्यूनतम पाँच लाख हुनुपर्ने, १२ कक्षा अध्ययन गरेको हुनुपर्ने मापदण्ड थियो । त्यो मापदण्डका कारण नक्कली कागजपत्र बनाउने धन्दा बढेको र अध्यागमनमा सेटिङको धन्दा बढाएको निष्कर्षसहित गृहले भिजिट भिसालाई केही सरलीकृत गरेको छ । नयाँ मापदण्डमा पर्यटक भिसामा संयुक्त अरब इमिटरेट्स (युएई), बहराइन, कुवेत, कतार, ओमन र साउदी अरेबिया जान समयमै फर्कने लगायत विषयमा स्वघोषणासम्बन्धी कागजमा विवरण भरेर हस्ताक्षर गर्नुपर्ने हुन्छ । जुन कार्यविधि १० माघदेखि कार्यान्वयनमा आएको छ । समाचार स्रोत नयाँ पत्रिका दैनिक

प्रतिक्रिया