राष्ट्रिय सभाको चुनाबको अन्तिम परिणाम आइरहँदा सत्तारुढ गठबन्धन भित्र चियाको कपमा तुफान आए जस्तो गरेर हल्लीखल्ली मच्चिएको जस्तो देखिएको छ। अन्तिम परिणाम आइपुग्दा राष्ट्रिय सभामा संसद्को तेश्रो दल नेकपा माओवादी केन्द्र सबैभन्दा ठुलो दल बनेको छ। उसले सत्ता साझेदार नेपाली कांग्रेसको मत बिना नै राष्ट्रिय सभामा अन्य साझेदार दलहरुको सहयोगमा बहुमत पाउन सक्ने अवस्था सिर्जना भएको छ।
अहिले आएर राष्ट्रिय सभामा सबैभन्दा ठुलो दल बनेको माओवादी केन्द्र कोशी प्रदेशमा भएको राष्ट्रिय सभा चुनाबमा नेपाली कांग्रेसले धोखाधडी गरेको भन्दै असन्तुष्टि जनाएको सार्वजनिक अभिव्यक्तिहरु बाहिर सार्वजनिक भैरहेका छन्।
कांग्रेसको एउटा समूहले योजनबद्ध आफ्ना उम्मेदवार हराएको भन्दै माओवादी नेताले यसलाई सामान्य रूपमा नलिन प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन्। यसबारे कांग्रेसको संस्थागत धारणा सार्वजनिक हुनुपर्ने माओवादीको माग छ।
बिहीबार सम्पन्न राष्ट्रिय सभा चुनावमा कोसी प्रदेश महिलातर्फ माओवादी उम्मेदवार चम्पादेवी कार्की एमालेकी रुक्मिणी कोइरालासँग पराजित भएकी थिइन्। सत्ता गठबन्धनसँग जित्ने पर्याप्त मत हुँदा हुँदै तीनजना प्रदेश सांसदको मत कार्कीले पाउन नसकेपछि हार्न पुगिन्। यसले माओवादी रुष्ट बनेको छ। कांग्रेसको एउटा समूहले धोका दिएको उसले आरोप लगाएको छ।
चम्पा पराजित भएलगत्तै माओवादी कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले बिहीबार नै कांग्रेससँगको सहकार्यबारे गम्भीर समीक्षा हुनुपर्ने बताएका छन्।
नेताहरूको दबाबपछि प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग यसविषयमा छलफल गर्ने भएका छन्। आइतबारतिर कांग्रेसका शीर्ष नेता र माओवादीका नेताबीच छलफल हुँदैछ।
त्यसअघि माओवादीले कोशीका नेतासँग आन्तरिक छलफल गरेको छ। कोशीको नतिजाले माओवादीलाई निकै गम्भीर बनाएको महासचिव देवप्रसाद गुरुङ बताउँछन्। कांग्रेसले इमान्दारिता देखाउन नसकेकोमा उनले गुरूङले असन्तुष्टि जनाए। उनले कांग्रेससँगको सत्ता यात्राको पनि समीक्षा गर्नुपर्ने अवस्थामा आफूहरू पुगेको बताए।
कोशीमा उत्पन्न राजनीतिको कोर्सले केन्द्रीय राजनीतिलाई नयाँ ठाउँमा पुर्याउन सक्ने देखिन्छ। किनभने राष्ट्रिय सभाको चुनावमा माओवादी पहिलो दल बनेको छ।
कांग्रेसका कृष्णप्रसाद सिटौला राष्ट्रिय सभाको अध्यक्ष बन्न चाहिरहेका छन्। माओवादी केन्द्रले खुलेर समर्थन नगर्दा सिटौला अध्यक्ष बन्न सम्भव छैन।
कांग्रेसको शेखर समूहले धोका दिएकै कारण आफ्ना उम्मेदवार पराजित हुनु परेकोले सह्य नहुने आङ्बो बताउँछन्। यसअघि मुख्यमन्त्री बन्न खोजेका उनी शेखर पक्षका सांसदकै कारण रोकिनुपरेको थियो।
शेखर पक्षीय नेता केदार कार्की एमालेकै कारण मुख्यमन्त्री बनेका थिए। कार्कीले एमालेलाई माओवादी उम्मेदवार हराएर गुन तिरेको चर्चा छ।
प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार राष्ट्रिय सभा चुनावबारे गठबन्धन दलले आन्तरिक रिर्पोटिङ लिएपछि गठबन्धनको बैठक बस्ने बताए।
‘आफ्ना आफ्ना पार्टीमा समीक्षा हुन्छ अनि गठबन्धन बैठक बस्छ,’ आचार्यले भने, ‘कोशी राजनीतिले गठबन्धनलाई नयाँ शिक्षा दिएको छ।’
माओवादी उम्मेदवारलाई मधेस, बागमती, गण्डकी र सुदुरपश्चिममा पनि गठबन्धनबाट पर्याप्त मत नखसेको नेताहरु बताउँछन्।