राष्ट्रिय सभा चुनाब : कोशीमा कांग्रेसद्वारा माओवादी केन्द्रलाई धोका, राष्ट्रिय सभा अध्यक्षमा के गर्ला ?

राष्ट्रिय सभा चुनाब : कोशीमा कांग्रेसद्वारा माओवादी केन्द्रलाई धोका, राष्ट्रिय सभा अध्यक्षमा के गर्ला ?


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १२ माघ २०८०
  • 4K
    Shares

पोखरा, १२ माघ २०८० /

राष्ट्रियसभा निर्वाचनका लागि बुधबार भएको निर्वाचनमा सातवटै प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवारको जित सुनिश्चित थियो । तर, दुई सिट रहेको कोशीमा भने उल्टो भयो । गठबन्धनबाट फ्लोर क्रस हुँदा विपक्षी गठबन्धनको एमालेकी रुक्मिणी कोइरालाले बाजी मारिन् ।

कोशीमा कांग्रेस उम्मेदवार कृष्णप्रसाद सिटौलाले जित्दा माओवादी केन्द्रका चम्पादेवी कार्की पराजित भएकी छन् । कांग्रेसको तीन जनाले मत क्रस गरेको आरोप छ । कोशीमा सत्ता गठबन्धनकी उम्मेदवार कार्की पराजित हुन पुग्दा आफूमात्रै विजयी भएकोबारे कांग्रेसका नेता सिटौलाको ‘आफूमाथि प्रहार गर्न खोज्नेहरूले यसपटक चम्पादेवीमाथि अली बढी हमला गरेको’ बताए ।

उनले जब–जब राष्ट्रिय राजनीतिमा आफू खडा हुन थाल्यो त्यति–त्यति बेला घेराउ गर्ने काम हुने गरेको दृष्टान्त दिँदै चम्पादेवीको हार त्यसकै सिलसिला रहेको बताए । ‘म जबजब राष्ट्रिय राजनीतिमा खडा हुन्छु, मलाई घेराउ गर्ने प्रवृत्ति हाबी हुन्छ । शायद त्यही कारणले अहिले चम्पादेवी कार्कीमाथि अली बढी प्रहार भयोजस्तो मलाई लाग्छ,’ सिटौलाले पत्रकारहरूसँग भने ।

कोशीमा कांग्रेसको संस्थापन इतर समूहबाट धोका भएको विश्लेषण भइरहेको छ । यद्यपि, यसबारे संस्थापनले मुख खोलेको छैन । सिटौलाले पनि यसबारे बोलेका छैनन् । ‘मलाई पार्टीले सर्वसम्मत निर्णय गरेको हो । अहिले त्यसबारे विश्लेषण गर्न चाहँदैन । अनुमानका भरमा भन्न मिल्दैन,’ उनले भने ।
तर, कोशी प्रकरणपछि माओवादी रुष्ट भएको छ ।

माओवादी कोशी प्रदेश कमिटी अध्यक्ष हर्क नेम्वाङले माओवादी–कांग्रेसको गठबन्धन अब धेरै रुँगेर नबस्ने चेतावनी दिएका छन् । ‘नेकपाको बहुमत हुँदा पनि कांग्रेसले भोट क्रस गरेको थियो । अहिले पनि सत्ता गठबन्धनमा बसेर भोट क्रस गर्ने काम भयो । उहाँहरूको विश्वास नै नहुने भयो । यस्तै हो भने गठबन्धन रुँग्नुको कुनै आवश्यकता छैन । पार्टीसँग सल्लाह गरे प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने हुन्छ,’ उनले भने ।

कोशी प्रकरण राष्ट्रियसभा अध्यक्ष चयनमा देखिन सक्छ । अध्यक्ष गणेश तिमिल्सेनाको कार्यकाल सकिँदैछ । गठबन्धनबाट कृष्णप्रसाद सिटौलालाई अध्यक्ष बनाउनेगरी उनलाई गठबन्धनले राष्ट्रिय सभा सदस्य उम्मेदवार बनाएको थियो । तर, कांग्रेसले कोशीमा धोका दिएको छ । यसले राष्ट्रियसभाको अध्यक्षको दौडमा रहेका सिटौलालाई संकट थपेको छ । गठबन्धनका एक उम्मेदवार सिटौला जित्ने र सोही मतदान भए पनि माओवादी उम्मेदवार पारजित हुनुले सत्ता गठबन्धनमा अविश्वास जन्माइदिएको छ ।

राष्ट्रियसभा अध्यक्ष संवैधानिक परिषद्को सदस्य हुने र संवैधानिक कार्यकारी पद हो । अहिले आफ्नो पार्टीका उम्मेदवार हारेपछि कांग्रेसमाथि प्रचण्डको विश्वास झन् घट्ने अवस्था बनेको हो ।

यो निर्वाचनको नतिजासँगै फागुन २० पछि राष्ट्रियसभामा दलीय हैसियत उलटफेर भएको छ । अहिले पहिलो दल रहेको नेकपा एमाले तेस्रोमा खुम्चिने भएको छ ।

प्रतिनिधिसभामा ३२ सीटसहित तेस्राे स्थानकाे माओवादी केन्द्र राष्ट्रियसभामा भने पहिलो दलको हैसियतमा आएको छ ।

अहिले दोस्रो स्थानमा रहेको माओवादी पहिलो स्थानमा उक्लिँदा कांग्रेस दोस्रो स्थानमा आएको छ । माधव नेपाल नेतृत्वको नेकपा एस भने ८ सांसदसहित चौथो स्थानमा छ ।

बिहीबारको निर्वाचनमा कांग्रेसले १०, माओवादीले ५, नेकपा एसले २ र एमाले तथा जसपाले एक-एक सीट जितेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने एक सीटमा जनमोर्चाकी दुर्गा पौडेललाई ल्याउने सहमति गठबन्धनमा भइसकेको छ ।

एमालेबाट राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित विमला राई पौड्याल (मनोनीत), भैरवसुन्दर श्रेष्ठ, कुमार दसौंदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा, ईन्दु कडरिया, नरपति लुहार र रामचन्द्र राई बिदा हुँदैछन् ।

राष्ट्रियसभामा अहिले माओवादीका १६ सांसद छन् । तीन सांसद बिदा हुँदा ५ सांसद निर्वाचित भएर आएपछि १८ सीट बनाएर माओवादी पहिलो दल बनेको हो । १० सांसद रहेको कांग्रेसकाे चार बिदा हुँदा १० थपिएर १६ जना पुगेकाे छ ।

नेकपा एससँग अहिले आठ सांसद छन् । तर, दुई जना बिदा भए पनि गठबन्धनको बलमा दुई जना जित्न सफल भए ।

यस्तै जसपाका तीन सांसद छन् । एक रिक्त हुने स्थितिमा उसले एक जना यथावत राख्न सक्यो । अहिले राष्ट्रियसभामा जनमोर्चाको एक सांसद छन् । राष्ट्रपतिबाट मनोनीत भएर आउँदा २ जना पुग्नेछन् ।

एमालेका पूर्वनेता वामदेव गौतम राष्ट्रियसभामा अहिले स्वतन्त्रको हैसियतमा छन् । उनलाई तत्कालीन केपी ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गरेका थिए । स्वतन्त्र रहेका गौतमले एमालेलाई साथ दिए सांसद संख्या ११ पुग्नेछ ।

फागुन २० बाट कांग्रेसका रमेशजंग रायमाझी, अनिता देवकोटा, प्रकाश पन्थ र जीतेन्द्रनारायण देव, माओवादीबाट महेशकुमार महरा, हरिराम चौधरी र वीना पोखरेल, नेकपा एसबाट सिंहबहादुर विश्वकर्मा र नन्दा चपाईं तथा जसपाबाट प्रमिलाकुमारी यादव र नेकपा एसबाट गठबन्धनको सहयोगमा निर्वाचित भएका स्वतन्त्र सांसद खिमलाल देवकोटा बिदा हुँदैछन् ।

प्रतिक्रिया