म्याग्दी सदरमुकाम बेनीमा अन्धाधुन्ध खुकुरी हानेर २२ वर्षीय युवाको हत्या, अर्का घाइते

म्याग्दी सदरमुकाम बेनीमा अन्धाधुन्ध खुकुरी हानेर २२ वर्षीय युवाको हत्या, अर्का घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १२ माघ २०८०
  • 19.2K
    Shares

पोखरा, १२ माघ २०८० /

म्याग्दी सदरमुकाम बेनी बजारमा बिहिबार सांझ अन्धाधुन्ध खुकुरी हानेर घाइते बनाइएका एक युवाको मृत्यु भएको छ। बेनीको न्यूरोडमा बिहिबार साँँझ करिब साढे ६ बजे खुकुरी प्रहारबाट गम्भीर घाइते बनेका म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगका घर भई हाल बेनी नगरपालिका–८ पिपलचोक बस्ने २२ बर्षिय शुशिल गर्वुजाको उपचारको क्रममा मृत्यु भएको हो ।

अन्धाधुन्ध खुकुरी प्रहारबाट सख्त घाइते भएका गर्बुजालाई उपचारार्थ बेनी अस्पताल पुर्याइएकोमा अस्पतालका चिकित्सकहरुले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए।

मृतकको टाउको र छातीमा धारिलो हतियार प्रहारको चोट रहेको प्रहरीले बताएको छ । घटनामा मृतकका साथी बेनी नपा–६ अथुङ्गेका अनुराग शाहीको समेत हातमा चोट लागेको छ । थप दुई जना घाइतेको बेनी अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार, सदरमुकाम बेनीमा जारी प्रथम म्याग्दी कप भलिबलको खेल हेरेर फर्किएको टोलीको कामना डेभलपमेन्ट बैंक नजिकै रहेको भित्री गल्लीमा जमकाभेट भएको थियो । मृतक यूवा सहितको टोली सवार मोटरसाइकललाई अर्को टोलीले घेरेर प्रहार गरेको बताइएको छ ।

युवाहरुबीच झगडामा एक्कासी खुकुरीले छातीमा प्रहार भएपछि शुशिल गर्बुजा गम्भीर घाईते भएका थिए । घटनामा संलग्न कसैलाई पनि पहिचान गर्न नसकेको प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताए ।

बेनीबजारबाट ग्रामिण क्षेत्रमा जाने सडक र बाहिरी जिल्ला जाने नाकामा समेत ब्यापक चेकजाँच भइरहेको प्रहरीले जानकारी दिएको छ । संलग्नहरु २०–३० वर्ष उमेर समूहका रहेका अनुमान गरिएको छ । झगडामा संलग्न दुवै समुह बिच पूरानो रिसिबी भएको वा अन्य कारण बारेमा विस्तृत खुलिसकेको छैन ।

प्रतिक्रिया