पोखरा, ११ माघ २०८० /
क्यानडा पठाईदिने प्रलोभन देखाएर ठगी गरेको अभियोगमा प्रहरीले पोखराको एक होटलबाट छ जनालाई मंगलबार पक्राउ गरेको छ । पोखरा महानगरपालिका-१० बुद्धचोकस्थित होटल टास्क इन्टरनेशनलमा क्यानडा पठाउने भन्दै युवाहरुसंग अन्तरवार्ता लिदै गरेको अवस्थामा कास्की प्रहरीले मंगलबार दुई जना बिदेशी नागरिकसहित छ जनालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार, पक्राउ पर्नेहरूमा क्यानडा अलवर्ट राज्य क्यालगोरी सिटी स्थायी वतन भएका ४५ वर्षीय राकेश जैसवाल र भारत मध्य प्रदेश भोपाल नगर स्थायी वतन भएका ३२ वर्षीय ईस्मित कौर, पोखरा महानगरपालिका-१३ पाटनवेशी बस्ने ६५ वर्षीया पार्वती सुनार, पोखरा महानगरपालिका-९ महेन्द्रपुल बस्ने ३७ वर्षीया रिता सुनार, स्याङ्जा फेदिखोला गाउँपालिका-३ बस्ने ३२ वर्षीया सिमा सुनार, काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने ३८ वर्षीय प्रदिप उपाध्याय रहेका छन् ।
पार्वती सुनार समेतले “छोरी क्यानडामा छ सिधै क्यानडाको भिषा निकाली दिन्छ, विदेशबाट अन्तर्वार्ता लिन मानिस आएका छन” भनी प्रलोभन देखाई क्यानडा जानको लागि प्रतिव्यक्ति ३० लाख रूपैयाँ लाग्ने, उक्त रकम अन्तर्वार्ता पास भए पछी दिनु पर्ने र अन्तर्वार्ताको लागि प्रतिव्यक्ति २ हजार रूपैयाँ उठाई अन्तर्वार्ता लिएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
उनीहरू उपर कास्की जिल्ला अदालतबाट ठगी सम्बन्धी मुद्दामा पांच दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।