पोखरा, १० माघ २०८० /
चर्चित ६० किलो सुन तस्करी प्रकरणमा थुनामा रहेका १२ जनालाई धरौटीमा छाड्न अदालतले अस्वीकार गरेको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय धीरबहादुर चन्द र कृष्णराम कोइरालाको बुधबारको इजलासले १२ जनालाई धरौटीमा छाड्न अस्वीकार गरेको हो ।
अवैध सुन तस्करी प्रकरणमा थुनामा रहेका बेल्जियन नागरिक दावा छिरिङ लगायतका १२ जनाले थुनामै रहेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने अदालतको आदेशमा उल्लेख छ । काठमाडौँ जिल्ला अदालतको आदेश बेरितको रहेको र आफूहरू थुना बाहिरै रही मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने भन्दै निवेदन लिई उच्च अदालत पुगेका मध्ये दावा छिरिङ, टासी भन्ने थुप्तिन छिरिङ, शिवकुमार सर्राफ, हर्कराज राई, दिलीप भुजेल, रामकुमार भुजेल, राजेन्द्र कुमार राई, सुमन खरेल, किशोर बस्नेत, सरोज श्रेष्ठ, कुमार ढकाल र सन्तोष चन्दको हकमा काठमाडौँ जिल्ला अदालतकै आदेश सदर गर्दै थुनामै राख्ने आदेश दिएको हो ।
यता सोही मुद्दामा थुनामुक्त हुन पाउँ भन्दै निवेदन दिएका ६ जनासँग भने धरौटी लिई मुद्दाको पुर्पक्ष गर्न सक्ने आदेश दिएको उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानाकारी दिए। थुनामुक्त भई मुद्दाको पुर्पक्ष गरिपाउँ भनी निवेदन दिएकामध्ये कृष्णकुमार श्रेष्ठ र पुष्करराज भट्टबाट अदालतले जनही एक लाख रुपैयाँ धरौटी माग गरेको छ । त्यसैगरी थुनामा रहेका प्रतिवादीहरू गणेशप्रसाद पौडेल र वीरेन्द्र नेपालीसँग जनही ५ लाख रुपैयाँ धरौटी माग गरिएको छ भने प्रतिवादीहरू सुदर्शन गौतम र यादव पराजुलीसँग जनही २ लाख रुपैयाँ धरौटी माग गरिएको छ ।
६० किलो अवैध सुन तस्करी प्रकरणमा पक्राउ परेकामध्ये काठमाडौँ जिल्ला अदालतले २०८० असोज १९ गते १८ जनालाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने आदेश दिएको थियो ।





