पोखरा, ८ माघ २०८० /
राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले सहकार्य गर्ने सहमति भएको छ । एमालेले अन्य तर्फका उम्मेदवार परशुराम अधिकारीलाई ब्याक गराएर राप्रपाका उद्धव पौडेललाई सहयोग गर्ने सहमति भएको हो ।
एमालेले अब अन्यतर्फ राप्रपाका पौडेललाई सहयोग गर्ने र महिलातर्फ एमालेकी रुक्मिणी कोइरालालाई सहयोग गर्ने दुई दलबीच सहमति जुटेको हो ।
माघ ११ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनका लागि कोशी प्रदेशमा नेकपा एमाले र राप्रपाले तालमेल गरेपछि सत्ता गठबन्धन दबाबमा परेको छ ।
यसअघि एमालेबाट अन्य पुरुष कोटाबाट उम्मेदवार बनेका पर्शुराम अधिकारी ‘ब्याक’ भएका छन् । उनी पूर्वमाओवादी हुन् ।

कोशीमा सत्ता गठबन्धनका तर्फबाट अन्यतर्फ नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र महिलामा नेकपा माओवादी केन्द्रबाट चम्पादेवी कार्की उम्मेदवार बनेका छन् । कोशीमा राष्ट्रियसभाका लागि तीन सय ६७ मतदाता छन् । तीमध्ये ९३ जना प्रदेशसभा सदस्य हुन् । प्रदेशसभा सदस्यको मतभार ५३ हो । स्थानीय तहका दुईसय ७४ प्रमुख तथा उपप्रमुखको मतभार १९ हुन्छ ।
प्रदेश र स्थानीय तह गरेर एमालेको चार हजार दुइसय ४८, कांग्रेसको टेरेन हजार छसय ८४, माओवादी केन्द्रको एक हजार दुइसय ७८, राप्रपाको तीनसय ९४, नेकपा एकीकृत समाजवादीको तीनसय ४५, जसपाको एकसय २९ र स्वतन्त्रको ५७ मतभार छ ।
जसअनुसार सत्ता गठबन्धनको मतभार पांच हजार चारसय ७४ छ भने एमाले–राप्रपा गठबन्धनको कुल मतभार ४ हजार छसय ४२ छ ।