६१ किलो सुन प्रकरण : आरोपी चलाउनेविरुद्ध डिफ्यूजन नोटिस जारी गर्न इन्टरपोललाई पत्राचार

६१ किलो सुन प्रकरण : आरोपी चलाउनेविरुद्ध डिफ्यूजन नोटिस जारी गर्न इन्टरपोललाई पत्राचार


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ८ माघ २०८०
  • 2.7K
    Shares

जीवन चलाउने

पोखरा, ८ माघ २०८० /

मोटरसाइकलको ब्रेक प्याडभित्र लुकाएर तस्करी भएको ६१ किलो सुन प्रकरणमा जोडिएका जीवन चलाउनेविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) बाट डिफ्यूजन नोटिस जारी हुने भएको छ ।

प्रहरी महानिरीक्षकको नेतृत्वमा हुने इन्टरपोलको नेशनल कन्ट्रोल ब्यूरो (एनसीबी), काठमाडौंले इन्टरपोल महासचिवालयलाई चलाउनेविरुद्ध डिफ्यूजन नोटिस जारी गर्न पत्राचार भएको समाचार स्रोतहरुले जानकारी दिएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले गृह प्रशासनले चलाउनेलाई भगाएको आरोप लगाउँदै आएका थिए । संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पनि लामिछानेले चलाउनेको विषय उठाएका थिए ।

दबाबका बीच चलाउनेको खोजीका लागि इन्टरपोलमा ड्यूजन नोटिस जारी हुन लागेको हो । यो नोटिस जारी भएपछि इन्टरपोलका सदस्य राष्ट्र मुलुकहरुमा चलाउने भएको वा नभएको लोकेट हुनेछ, त्यसपछि उनलाई डिपोर्ट गराएर नेपाल ल्याउने प्रक्रिया थालिने प्रहरीले जनाएको छ ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, सुन प्रकरणमा जोडिएका बेल्जियन नागरिक दावा छिरिङसँग चलाउनेको सम्बन्ध देखिएको थियो ।

छिरिङले चलाउनेलाई म्यासेज गर्दै ‘आफूसँग चिनियाँ सुन समूहसँग विजनेस गर्ने आइडिया’ भएको भनेको पाइएको थियो । त्यसपछि चलाउनेले ‘मैले मिलाएको छु सबै काम, दाइ’ भनेको भेटिएको थियो ।

उनले जिरा भन्दै सुनको विषयमा कुुरा गरेको समेत भेटिएको अनुसन्धान अधिकृतहरुको भनाइ छ ।

राजश्व अनुसन्धान विभागले ३ साउनमा मोटरसाइकलको ब्रेक प्याडभित्र लुकाएर ल्याएको ठूलो परिमाणको सुन बरामद गरेको थियो ।

त्यसबेला झण्डै एक क्वीन्टल सुन भन्सार जाँच पास पार गरेर बाहिरिएको भनिएपनि पछि जोख्दा ६१ किलो सुन मात्र भेटिएको थियो ।

१९ दिनपछि यसमा संगठित अपराधको तत्व देखिएको भन्दै विभागले थप अनुसन्धान गर्न सम्पूर्ण प्रतिवेदन केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई जिम्मा लगाएको थियो । त्यसक्रममा भएको अनुसन्धानपछि सीआईबीले यो समूहले थप ३०२ किलो सुन तस्करी गरिसकेको निष्कर्ष निकालेको थियो ।

यो मामिलामा सीआईबीले दावा, जीवनसहित २९ जनालाई प्रतिवादी बनाएर सुन भन्सार चोरी पैठारी र संगठित अपराध समेतको कसुरमा अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको थियो । यो मुद्दा जिल्ला अदालत, काठमाडौंमा विचाराधीन छ । अनलाइन खबर डट कमबाट साभार

प्रतिक्रिया